विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थीबीच कुटाकुट भएको छ ।
संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर अर्थात डा.शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहीबार बिहान करिब १० बजेतिर कुटाकुट भएको हो ।
झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङ मै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास रहेका छन् । घाइते भएका तीनै जना इतर पक्षका हुन् । साह र विश्वासको अवस्था सामान्य छ ।
पोखरेललाई भने विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उनका अनुसार महेन्द्र मोरङका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापति जसवन्त पौडेलसहितको समूहले आक्रमण आरोप छ । घटनापछि बाहिरिएको भिडियोमा पोखरेल लगायत माथि एकोहोरो आक्रमण भइरहेको देखिन्छ ।
‘सुरुमा मुक्का प्रहार गरियो । त्यसपछि बन्चरो लिएर आक्रमण गरियो,’ विश्वासले भनिन, ‘जिल्ला सभापतिको स्वास्थ्यमा अलि समस्या देखियो । हामी २ जना सामान्य नै छौं ।’ स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको उनको भनाइ छ ।
‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा सांघातिक हमला भयो । स्ववियु सभापतिको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन,’ उनले भनिन, ‘जिल्ला सभापति पोखरेलको टाउको र शरीरका विभिन्न भागमा समस्या देखिएको छ । तत्काल उपचारतर्फ केन्द्रित भएकाले घटनाका सम्बन्धमा थप कदम पछि चाल्छौं ।’
विश्वासका अनुसार नेविसंघका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दै गर्दा आक्रमण सुरु भयो । ‘क्याम्पसका बारेमा विद्यार्थीमा नराम्रो सन्देश जाने बुझेर केही समस्या भएमा छलफलबाट समाधान गरौं भनेर हामीले बारम्बार आग्रह गर्यौं,’ उनले भनिन, ‘तर, कुरै नसुनिकन एक्कासि आक्रमणमा उत्रिए ।’ शैक्षिक संस्थाभित्र गुण्डागर्दी र अराजक शैलीमा आक्रमण भएको विश्वासको भनाइ छ ।
सुरुमा मुक्काले प्रहार गरिएको र पछि बच्चरो समेत ल्याएर आक्रमण गरिएको दाबी उनको छ । विश्वासका अनुसार स्ववियुका नाममा धेरै बदमासी भएका छन् । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ । स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौं । त्यही रिसईबी राखेर आक्रमण गरिएको हुनसक्छ,’ विश्वासले भनिन् ।
स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको बताए । ‘म पहिले क्याम्पसको नेविसंघ सभापति थिएँ । स्ववियु सभापति भएपछि प्रशान्त यादवलाई कार्यवाहक दिएँ । कामकारबाही राम्ररी नै चलिरहेको छ । एक्कासि नयाँ इकाई समिति गठन गर्न खोजिएपछि विवाद बढेर झडप भएको हो,’ उनले भने ।
पौडेल पार्टीको संस्थापन पक्षधर हुन् । ‘यो जिल्लाले हेर्ने क्याम्पस हैन । इकाई कमिटी गठन गर्दा केन्द्रले नै प्रतिनिधि पठाउँछ । केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको हो,’ उनी भन्छन् ।
पौडेलका अनुसार नेविसंघका जिल्ला सभापति पोखरेल क्याम्पसमा नयाँ इकाई समिति बनाउने तयारीका साथ आएका थिए । पोखरेल पार्टीभित्र इतर पक्षधर हुन् । इतर पक्षधरले भने क्याम्पसमा नयाँ इकाई गठन गर्न नभइकन स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ । स्ववियु सभापति पौडेलले भने घटना भएका बेला आफू बाहिर रहेको र केहीबेरमा मात्रै क्याम्पसमा पुगेको बताए । उनले विवाद नेविसंघभित्रै रहेको उल्लेख गरे ।
विवाद बढेर २ पक्षबीच झडप भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीले नेविसंघका विद्यार्थीबीच सामान्य हात हालाहाल भएको बताए । ‘घटना भइसकेपछि हामी पुग्यौं । क्याम्पसभित्र प्रवेश गरेनौं’ उनले भने, ‘तर, २ पक्षबीच एकआपसमा मिल््ने र घटनालाई थप नबढाउने सहमति भएको थियो । यद्यपी घटना बारे मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ ।