इलामको रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल

<span class='c1'>इलामको रेडपाण्डा पदमार्ग : जहाँबाट</span> <span class='c2'>देखिन्छ ६० बढी हिमाल</span>

सुजन तिमल्सिना
इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् ।

दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदेखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्म गाउँपालिका फैलिएकाले यहाँका हरेक स्थानहरु घुम्न लायक छन् ।

१५६.०१ वर्ग किमी क्षेत्रफल ओगटेको गाउँपालिका जनसंख्याको आधारमा १३३ औं र क्षेत्रफलको आधारमा चारसय ७७ औं सानो स्थानीय तह हो । इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सन्दकपुरमा तुलनात्मक रुपमा घुम्न लायक स्थानहरु बढी छन् ।

सन्दकपुर उक्लिएपछि प्राकृतिक भू–बनोट, बहुमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तु, जैविक विविधता विभिन्न जातजातिको भाषा, सस्कृति, रहनसहन, रितीरिवाज र कृषिमा आधारित जीवनशैलीको अध्ययन गर्न सकिन्छ । समुन्द्र सतहबाट ९ सय ९ मिटरदेखि तीन हजार ६ सय ३६ मिटरसम्म फैलिएको छ ।

सिंहलिला र महाभारत पर्वत श्रृंखलाबाट उत्पन्न दर्जनौ नदीनाला, विश्व रामसार सुचीमा सुचीकृत माइपोखरी, अन्य सिमसार क्षेत्र, लोपोन्मुख वन्यजन्तु, वनजंगलभरी पाइने चराका बथान, वनस्पति हिमश्रृङ्खलाको दृश्य, झरनाहरु सन्दकपुरका आकर्षण हुन् । विशेषगरी लेकाली एवम पहाडी क्षेत्रमा रहेकाले यहाँका हरेक स्थान पदयात्राका लागि अब्बल छन् ।

सन्दकपुर डाँडा : कहाँबाट पदयात्रा

स्थानीय तह घोषणा भइ जनप्रतिनिधि नेतृत्वमा आएपछि सन्दकपुर गाउँपालिका भित्र पर्यटन प्रवद्र्धनले गति लिएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनपछि पर्यटन पूर्वाधारले पनि गति लिएको छ । सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल पछिल्लो समय पदमार्गले जोडिएका छन् । विश्व रामसार सुचिमा सुचिकृत माइपोखरीदेखि मानव निर्मित ढापपोखरी जोड्ने ४३ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ ।

माइपोखरीबाट शुरु भएको पदमार्गले डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, सूर्योदयमा दृश्यावलोकन क्षेत्र छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरुवाले, धुपि, आहाल हुदै सन्दकपुर डाँडा जोडिन्छ ।

सन्दकपुरबाट गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पुगेर पुरा हुन्छ । रेडपाण्डा पदमार्ग यात्राका क्रममा विश्वको अग्लो हिमश्रङ्खला ६० बढी हिमालको दृश्य, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चरिबाघ, मुनाल, डाँफे सहित सयौँ प्रजातीका चराहरु, सिमसार, नदीका मुहान, प्राकृतिक सुन्दरतामा रमाउन सकिने स्थानीयहरुको दाबी छ ।

सन्दकपुर डाँडासम्मको पदयात्रा सन्दकपुर गाउँपालिका ५ को पर्यटकीय गाउँ जौबारी बाट गैरीबास, कैयाकट्टा, कालपोखरी हुँदै पदयात्रा गर्न सकिन्छ । जौबारी सन्दकपुर पदमार्ग २५ किलोमिटर लामो छ ।

सन्दकपुर डाँडाको पदयात्रा वडा नम्बर १ को बिखेभञ्ज्याङबाट पर्यटकीयस्थल छिन्टापु गोरुवाले हुँदै सन्दकपुर पुगिन्छ । बिखेभञ्ज्याङबाट सन्दकपुरसम्मको पदयात्रा ३० किलोमिटर लामो छ ।

रेडपाण्डा पदमार्ग

विश्व रामसार सुचिमा सुचिकृत माइपोखरीदेखि जौबारीसम्म जोड्ने पदमार्ग रेडपाण्डा पदमार्ग हो । पदमार्ग ४३ किलोमिटर लामो छ । रेडपाण्डा पदमार्गमा पर्ने कैयाकट्टाबाट मानव निर्मित चन्द्रपाल थेवे ढापपोखरीसम्म पनि पदमार्गले जोडिएको छ ।

माइपोखरीबाट शुरु भएको पदमार्गले पर्यटकीयस्थल डम्बरसिंह सुनुवार संग्राहालय, सातखाल्डे सहिद पार्क, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, छिन्टापु डाँडा, गोरुवाले, धुपि, आहाल हुँदै कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पुगिन्छ ।

सन्दकपुरबाट बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, कैयाकट्टा हाँगेथाम हुँदै ढापपोखरी पनि पुगिन्छ । सन्दकपुर गाउँपालिकाबाट रेडपाण्डा पदमार्ग नामाकरण भएको पदमार्गमा संघीय सरकारको पर्यटन विभागबाट ६ करोड र प्रदेश सरकारबाट १ करोड खर्च भएको छ । जुन सन्दकपुर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीबाट वडा नम्बर ५ को जौबारी बजार जोडिन्छ । जौबारीलाई पूर्वी नेपालको मुस्ताङको उपमा पाएको छ ।

पदमार्गका आकर्षण

रेडपाण्डा पदमार्गले १५ पर्यटकीय गन्तव्य समेटिएका छन् । रामसार क्षेत्र माईपोखरी, डम्बरसिंह सुनुवार संग्राहालय, सहिदभुमि सातखाल्डे, रेडपाण्डा संरक्षण केन्द्र टप्पु, छोक्रेभञ्ज्याङ, खप्परे, ढुङ्गेपानी, छिन्टापु डाँडा, गोरुवाले पर्दछ । पदमार्गमा धुपि, आहाल डाँडा, सन्दकपुर डाँडा, गुराँसे भञ्ज्याङ्ग, बिखेभञ्ज्याङ, चौरीचौक, कालपोखरी, लालबास पोखरी, दोबाटे, माबुथाम, कैयाकट्टा, गैरीबास र जौबारी बजार रहेका छन् ।

रेडपाण्डा पदमार्गको शुरुवात सन्दकपुर १ र ३ मा अवस्थित रामसार क्षेत्र माईपोखरीबाट शुरु हुन्छ । माइपोखरी विश्व रामसार सुचिमा सुचिकृत धार्मिक र पर्यटकीय गन्तव्य हो ।

पदमार्ग यात्राका क्रममा विश्वको अग्लो सगरमाथा सहित नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । लोपउन्मुख रेडपाण्डा, थार, चितुवा, चरिबाघलगायतका वन्यजन्तुको अध्ययन गर्न सकिन्छ ।

लोपउन्मुख डाँफे, मुनालसहित दर्जनौँ चराहरुको दृश्यावलोकन र अध्ययन पदमार्ग यात्राका क्रममा पाइन्छ । दजनौँ सिमसार, नदीका मुहान, र प्राकृतिक सुन्दरतासँगै जडिबुटी र गुराँससहित दर्जनौँ प्रजातिका वनस्पति, फुलहरुमा रमाउन सकिन्छ ।

यात्रा र समय

रेडपाण्डा पदमार्ग ४३ दशमलव १८ किलोमिटर लामो छ । पदमार्गको यात्रा तीन दिनमा गर्न सकिने भएपनि भौगोलिक अवस्था, पदयात्रीको सुविधाका लागि आवश्यक पूर्वाधारका कारण पाँच दिनमा यात्रा गर्न सकिन्छ ।

पदयात्रा छोट्याउने र लम्ब्याउने पदयात्रीको खर्च गर्ने क्षमता र यात्राको अवस्थामा निर्भर हुन्छ । पदमार्गमा क्षेत्रमा खाने र बस्ने सुविधाको आधारमा यात्रा गर्न सकिन्छ । पदयात्राको शुरु माइपोखरी वा जौबारीबाट गर्न सकिन्छ । माइपोखरीबाट यात्रा तय गर्ने योजना बनाएमा झापाको पूर्व पश्चिम राजमार्गको चारआलीबाट इलाम सदरमुकाम हुँदै ८० किलोमिटर यात्रा गाडीको यात्रा गर्नुपर्छ ।

त्यसपछि माइपोखरीसम्म गाडीको यात्रा थप १२ किलोमिटर हुनेछ । यदि हामीले जौबारीबाट पदयात्राको योजना बनाएमा मेची राजमार्गको फिक्कलबाट माईजोगमाई गाउँपालिकाको नयाँबजारहुँदै जौबारीसम्म ७२ किलोमिटर गाडीमा यात्रा गर्नुपर्छ ।

पर्यटकीय गन्तव्यसँगै रहेका होटल र होमस्टेमा गाँस र बासको सुविधा रहेकाले यात्रा रमाइलो हुनेगर्छ । यात्राका क्रममा दर्जनौ प्रजातीका चराहरु, लोपोन्मुख रेडपाण्डा, दर्जनौ हिमश्रृङ्खलाको दृश्यमा रमाउन सकिन्छ ।

यात्राका क्रममा भेटिने छोक्रेभञ्ज्याङ, खप्परे घिवाला भञ्ज्याङ्ग र ढुङ्गेपानी क्षेत्रसम्मको क्षेत्र वन्यजन्तु र चराहरुको अध्ययनको क्षेत्र मानिन्छ । छिन्टापु डाँडा नेपालको प्राकृतिक ग्रेटवालले प्रख्यात छ । चीनको ग्रेटवाल झैँ देखिन्छ । छिन्टापु ३ हजार ३ सय ३ मिटरको उचाईमा अवस्थित छ । छिन्टापु क्षेत्र इलामको गुराँसको राजधानीका रुपमा परिचत छ । छिन्टापुबाट दर्जनौ हिमश्रृङ्खलाहरुको दृश्यमा रमाउन सकिन्छ ।

छिन्टापु क्षेत्रमा क्याम्प राखेर गर्न बस्न सकिने भएपनि होटल र होमस्टेको व्यवस्था नभएकाले गोरुवाले क्षेत्रमा पुगेर होमस्टेमा बस्न सकिन्छ । सन्दकपुर क्षेत्र समुन्द्र सतहबाट ३६ सय ३६ मिटरमा अवस्थित छ ।

पदयात्राका क्रममा चराहरुको चिरबिर अनि भेटिने मुनाल र रेडपाण्डाको दृश्यले सबैको मन फुरुङ्ग बनाउँछ । चैत्र र बैशाखमा फुल्ने लाली गुराँसको फुलमा रम्न सकिन्छ । यात्राका क्रममा धुपि क्षेत्रमा रहेका चौरी गोठहरुमा चौँरीको दूधको स्वादमा रमाउँदै धुपिबाट आहाल डाँडा हुँदै सन्दकपुर डाँडासम्म पुग्न सकिन्छ ।

आहालडाँडा सुर्योदय र सुर्यास्तको दृश्यमा रमाउन सकिन्छ । नेपाल र भारत सीमा क्षेत्रमो रहेको आहालडाँडा क्षेत्रमा भारत भएर दैनिक सयौँ पर्यटकहरु आउने गरेको छ । आहालडाँडाबाट सगरमाथा, कंचनजंघमा हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । आहालडाँडाबाट नजिकै रहेको छ सन्दकपुर डाँडा । भारतको पश्चिमबंगाल र इलामको शीर सन्दकपुर डाँडा महाभारत पर्वतमा पर्ने सुनको अण्डा मानिन्छ ।

नेपाल, भारत, भुटान र चीनको तिब्बतका हिमश्रृङ्खलाहरुको चराले झैँ दृश्यावलोकन गर्न सकिने सन्दकपुर क्षेत्रमा होटल र होमस्टेहरुमा बास बस्नको आनन्द बेग्लै हुन्छ । सन्दकपुरबाट नेपाल, भारतका ग्रामीण बस्तीदेखि सहरहरुसम्मको दृश्यमा रमाउन सकिन्छ ।

पदयात्रामा भेटिने दोबाटे लोपोन्मुख रेडपाण्डाको अध्ययन क्षेत्रको रुपमा परिचित छ । सन्दकपुर डाँडाबाट हामी गुराँसे भञ्ज्याङ, बिखेभञ्ज्याङ्ग, चौरी चौक, कालपोखरी, लालबास पोखरी हुँदै दोबाटे पुग्न सकिन्छ ।

दोबाटे क्षेत्रका होमस्टेमा बास बसेर अर्गानिक खाना अनि लोपोन्मुख रेडपाण्डाको अध्ययन गर्न सकिन्छ । दोबाटे क्षेत्रमा मुनाल र डाँफे चराको पनि अध्ययन गर्न पाइन्छ । त्यसबाहेक चरिबाघ र सयौँ प्रजातीका चराहरुको अध्ययन अवलोकन गर्न पाइन्छ ।

दोबाटेबाट जौबारीसम्मको यात्रा अझै रोमान्चक बनाउन सकिन्छ । सन्दकपुर ४ को माबुथाम डाँडासम्म पदयात्रा माबु सन्दकपुर सडकको प्रयोग गर्नुपर्छ ।

माबुथाम डाँडामा निर्माणाधिन टावरबाट पुरै सन्दकपुर गाउँपालिकासँगै तराईका भु–भागहरुको दृश्यावलोकन गर्न सकिन्छ । दोबाटे फर्केर कैयाकट्टा, गैरीबास, जौबारीसम्म यात्रा झनै रोमान्चक लाग्छ । जंगलको बिचमा रहेको पदमार्ग यात्राको आनन्द बेग्लै हुन्छ । यात्राको बिचमा पर्ने कैयाकट्टा, गैरीबास, जौबारी क्षेत्र रेडपाण्डा, सयौँचराहरु, मुनाल, डाँफे, चरीबाघको अध्ययन गर्ने अवसर पाइन्छ ।

थप्न सकिन्छ यात्रा
रेडपाण्डा पदमार्गको यात्रा सकिएपछि यात्रा थप गर्न सकिन्छ । सन्दकपुर ५ को कैयाकट्टाबाट हाँगेथाम हुँदै ढापपोखरीसम्मको पदयात्रा थप्न सकिन्छ ।

कैयाकट्टाबाट ढापोखरीसम्मको यात्रामा पर्यटकीय गन्तव्य कैयाकट्टा, हाँगेथाम, साँङ्गे छ्योलिङ्ग गुम्बा, ढापोखरी, पाहा झरना जोडिएका छन् । यो यात्रा ८ किलोमिटरको हुनेछ । त्यस्तै सन्दकपुर– ५ को जौबारीबाट आहालभञ्ज्याङ्ग क्षेत्रसम्मको यात्रा थप गर्न सकिन्छ ।

यात्रामा रेडपाण्डा र चराचुरुङ्गीको अध्ययन गर्न सकिन्छ । सन्दकपुर १ को बिखेभञ्ज्याङ्गबाट छिन्टापु हुँदै सन्दकपुरसम्म यात्रा गर्न सकिन्छ । यो क्षेत्रमा पाँचथरको पौवाभञ्ज्याङ्गबाट निर्माण शुरु भएको फाल्गुनन्द पदमार्गले जोडिन्छ । हिमाली दृश्यसँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा र चराचुरुङ्गीको अध्ययनबाट आनन्द लिन सकिन्छ ।

पदमार्गमा पूवार्धार आवश्यक

रेडपाण्डा पदमार्ग पूर्ण रुपमा संचालनका लागि थप पूर्वाधार निर्माण हुुनपर्ने आवाज उठिरहेको छ । पदमार्ग र पर्यटकीय गन्तव्यहरुको सूचना लिनका लागि सुचना केन्द्रको आवश्यकता देखिएको छ । विश्व रामसार सूचिमा सुचिकृत माइपोखरीमा सुचना केन्द्र स्थापना गर्न यात्रुहरुले माग गर्ने गरेका छन् ।

पदमार्गको सुरक्षा र मर्मतको काम नियमित हुनुपर्ने आवाज पनि उठिरहेको छ । पदमार्गको नियमित मर्मत नहुँदा झाडीमा परिणत हुने भएकाले अशोस र फागुन महिनामा पदमार्ग सफा गर्नुपर्ने बाध्यता छ । पदमार्गको छिन्टापु क्षेत्रमा पर्यटक बस्ने आवास गृहसँगै, शौचालय र खानेपानीको व्यवस्था गर्न आवश्यक छ ।

सन्दकपुर डाँडामा गेष्टहाउस संचालन गर्न, पदमार्गको टप्पु छिन्टापु क्षेत्रको घिवाला भञ्ज्याङ्ग क्षेत्रमा पर्यटक बस्नका लागि गेष्ट हाउस बनाउन आवश्यक छ । गोरुवाले आहाल खण्डको धुपी क्षेत्रमा गेष्ट हाउस र क्याम्प राख्नका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयको जोड छ ।

पदमार्गको कैयाकट्टा र गैरीबास जोड्ने खण्ड पूर्णरुपमा मर्मत गर्नुपर्ने, घिवाला भञ्ज्याङ्ग, छिन्टापु, धुपि, लगायतका क्षेत्रमा खानेपानीको व्यवस्था हुनुपर्ने, आरामका लागि गोल घर बनाउनुपर्ने पर्यटन व्यवसायीहरुले माग गर्दै आइरहेका छन् । पदमार्ग भित्र पर्ने बजारहरुमा फोहोरमैला व्यवस्थापन गर्न समुदायलाई सचेत गराउनुपर्ने आवाज पनि उठिरहेको छ ।

रेडपाण्डा पदमार्ग क्षेत्रमा जैविक विविधता, जडिबुटी, चराचुरुङ्गी, सरिश्रप, लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, चितुवा, चरिबाघ, मुनाल, डाँफे र पोखरीहरु रहेकाले सोही अनुसारका कार्यक्रमहरु अघि बढाउन सरोकारवालाहरुले बताउँदै आइरहेका छन् । यद्यपी, भौतिक पूर्वाधार निर्माण गर्दा वनजंगल र जंगल क्षेत्रमा बसोबास गर्ने चराचुरुङ्गी, वन्यजन्तु, चराचुरुङ्गी र सिमसार क्षेत्रको सुरक्षालाई ध्यान दिनुपर्ने सुझाव सरोकारवालाहरुको छ ।

रेडपाण्डा पदमार्गको सुरक्षा र व्यवस्थापनका लागि समुदायसँग जोड्नुपर्ने, नियमित मर्मतका लागि समुदायलाई जिम्मा दिनुपर्ने, समुदायमा आधारित पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गर्नुपर्ने, होमस्टे, गोठस्टे, गाइड, पोटरलगायतका सीपमुलक कार्यक्रमहरुअघि बढाउन सुझाव आएको सरोकारवालाहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्