विराटनगर । सुनसरीको दुहबी बजारमा सडक सीमा भित्र पर्ने व्यक्तिगत संरचना भत्काइएको छ ।
बजार क्षेत्रको ६३० मिटर दुरी ‘बिल्टप एरिया’ घोषणा भएपछि सडक विस्तारमा समस्या पर्दै आएको थियो । सडक विभाग अन्तर्गत छलेन सडक योजना इटहरीले कोशी राजमार्ग अन्तर्गत रानी–धरानसम्म छलेनमा विस्तारको काम गरिरहेको छ । तर, दुहबी बजारमा भने सडक सीमा घटाइएका कारण बन्न सकेको थिएन ।
कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ ।
राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५–२५ मिटरसहित सेटब्याक ६÷६ मिटर कायम हुनुपर्ने हुन्छ । तत्कालिन राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ अनुसार राजमार्ग घोषणा, सडक ऐन २०३१ अनुसार सडक केन्द्रबाट दायाँ–बाँया २५–२५ मिटर र ६–६ मिटर ‘सेट ब्याक’ गरि कुल ६२ मिटरले मापदण्ड छ ।
तर, दुहबी बजार क्षेत्रको ६३० मिटर दुरीको सडक भने यो मापदण्डमा नपर्ने गरी निर्माण गर्न पनि स्थानीयले दिएका छैनन् । २०५४ चैत ३० गते (राजपत्रका प्रकाशित) सडक बिल्ट अफ एरियालाई आधार मानेर निर्माण कार्य सुरु गरिने भएको हो । यो आधारलाई मान्दा दुहबी बजार क्षेत्रको ६३० मिटर सडक केन्द्रभागदेखि दाँया–बाँया ८.२३\८.२३ हुनेछ । त्यस बाहेक सडक सीमापछिको ६\६ मिटर सेटब्याक छोड्नु पर्नेछ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालय अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान योजनाले सोमबार सूचना प्रकाशित गर्दै २०५४ मा तय भएको सडक सीमा भित्रका संरचना खाली गर्न ३० दिन अगाडी सुचना प्रकाशित गरेको थियो । बुधबार त्यसको माद सकिएपछि बिहीबार घर भत्काइएको हो।
समाधान भएका आधारमा दुहबी बजार क्षेत्रमा १६ मिटरको सडक बन्नेछ । जबकी अन्य क्षेत्रमा ५० मिटर चौडाई रहेको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना रानी–बिराटनगर–इटहरी–धरान सडकको ‘राइट अफ वे’ केन्द्रदेखिको दायाँ–बाँया बनेको भौतिक संरचना ३० दिन भित्र हटाउन स्थानीयवासीका नाममा सूचना दिएपनि नभत्काएपछि बल प्रयोग गरिएको छ ।
दश अर्ब ९८ करोड लागतमा निर्माण हुनुपर्ने ४९ किलोमिटोर रानी–धरान व्यापारिक मार्ग सडकको धरानको ५ किलोमिटर दुरी समेत विवाद छ । आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएको योजना ७ वर्षमा सम्पन्न गर्ने सम्झौता थियो । तर, दश वर्ष बढी हुँदा समेत अझै उल्भन देखिदै आएको छ ।