विराटनगर । विराटनगर राउण्ड टेबल ०५ ले आगामी फागुन २९ गते विराटनगर किङ्गस कलर वाक्थान ०८ आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ६:३० बजेदेखि जैन भवन परिसरबाट सुरु हुने आयोजकले जनाएका छन्।
विराटनगर राउण्ड टेबल ०५ का अध्यक्ष पियुष लुनियाँका अनुसार हर्ष अग्रवालको संयोजकत्वमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य र सौहार्दपूर्ण वातावरणमा होलीको त्यौहार मनाउनुका साथै आपसी भाइचारालाई अझ प्रगाढ बनाउनु रहेको छ।
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रममा नेपालका चर्चित सेलिब्रिटीहरुलाई आमन्त्रित गरिएको छ। यस वर्षको कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काको विशेष उपस्थिति रहने जनाइएको छ।
कलर वाक्थान जैन भवनबाट सुरु भएर गोल्छाचौक, सहिद मैदान, घोघापुल चौक, राम जानकी मन्दिर र हनुमान मन्दिर हुँदै पुनः जैन भवनमै पुगेर समापन हुनेछ।
कार्यक्रमको मुख्य प्रायोजक विराटनगर किङ्गस रहेको छ भने हुलास र नेशनल मोटर्स सह-प्रायोजकको रूपमा रहेका छन्।