विराटनगर । हिलो बिहीबार पहाडी भेगमा होली सकिए लगत्यै आज तराईमा होली पर्व भव्य रुपमा मनाईदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ । हुनत एक साता अघिदेखी नै रंग दलेर एक आपसमा होलीको शुभकामाना आदान प्रदान हुने कार्य जारी हुन्छ । यद्यपी आज विभिन्न संघ सस्थाहरुले ठाँउ ठाँउमा भेला भई सास्कृतिक कार्यक्रम गरी होली पर्व मनाईरहेका छन् ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो ।
भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । होलीको अवसरमा सरकारले शुक्रबार तराईका जिल्लाहरुमा सार्वजानिक बिदा दिएसँगै खुशीका साथ आज भव्य रुपमा होली मनाउने कार्य भईरहेको छ ।