विराटनगर । होलीको मौका छोपी विराटनगरमा बाख्राको मासु बेचेको भेटेपछि विराटनगर महानगरपालिकाले अनुगमन गर्दै कारबाहीको लागि पहल थालेको छ ।
आज चैत १ गते तराईमा विशेष होली पर्व मनाईदैछ । होलीमा विशेषगरी खसीको मासु बिक्री हुने हुदा विराटनगरको बजारमा खसीको मासु भन्दै बाख्राको मासु बेचेको भेटिएपछि महानगरले अनुगमन गरेको हो ।
विराटनगर महानगरपालिका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार विराटनगरको बजारमा आमउपभोक्ताले बाख्राको मासु खसीको मुल्यमा बेचेको भन्ने जनगुनासो आएपछि तत्काल हामी बजार अनुगमनमा निस्कदा केही ठाँउमा बाख्राको मासु बेचेको भेटियो । विराटनगर ६ सरोचियामा रहेको नौसाद फ्रेस हाउसमा बाख्राको मासु बेचेको भेटिएपछि तत्काल मासु जफत गरी फिनेल लगाएर नष्ट गरिएको प्रहरी निरीक्षक पौडेलले आवर विराटनगरलाई जानकारी दिए ।
त्यसैगरी अन्य स्थानमा पनि बाख्रा र खसीको मासु एकै ठाँउमा राखेर बेचेको भेटियो पौडेलले भने,’ त्यसरी बेच्न पाईदैन तर विराटनगरका अधिकास स्थानमा बाख्राको मासु बेचेको भेटियो बाख्राको मासु बेच्नेलाई आईतबार महानगरमा कारबाहीको लागि बोलाएको छौँ।’
होलीको मौका छोपी व्यापारीहरुले बाख्राको मासु बेच्ने गरेका कारण सबै आम उपभोक्तालाई सर्तक रहन महानगरले आग्रह समेत गरेको छ ।