विराटनगर । विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब लागतमा औषधी उद्योग स्थापना गरिएको छ । स्वास्थ्य उपचारमा अति आवश्यक पर्ने सलाइन पानी उद्योगमा दिनेश ठाकुर र रन्जित भगतले संयुक्त लगानी गरेका हुन् । उनीहरुको उद्योग मोरङको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा सञ्चालनमा आएको छ । यद्यपी यसको उत्पादन बजारमा आउन भने अझै साउनसम्म पर्खनुपर्नेछ ।
अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा गरेर स्थापना गरिएको उद्योगका उत्पादन उच्चस्तरीय हुने दावी सञ्चालकहरुले गरेका छन् । उद्योग स्थापना बारे सोमबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । एभरेष्ट बैंकसँगको वित्तीय सहकार्यमा एक अर्बको लगानीमा स्थापना गरिएको उद्योगमा बैंकको ६० करोड र साझेदारीहरुको ४० करोड लगानी हुने दावी गरिएको छ । उद्योगमा हालसम्म बैंकले ४५ करोड र साझेदारले ३० करोड लगानी गरिसकेको ठाकुरेले जानकारी दिएका छन् । अझै उद्योगको पूर्ण क्षमता सञ्चालनमा ल्याउँदासम्म थप २५ करोड लगानी गर्नुपर्ने स्थिति रहेको उनले सुनाए ।
औषधी ओरल (मुख) सेवन गर्ने र इलेक्ट्रोरल रगतमार्फत दिने हुन्छन् । ठाकुर र भगतको साझेदारीमा स्थापीत एलेक्सा लाइफ साइन्सेस उद्योगले रगतबाट मानव शरिरमा दिईने औषधी उत्पादन गर्न लागेको हो । यसका लागि उद्योगमा जर्मन प्रविधीका मेसिनहरूको प्रयोग हुनेछन् । औषधीहरु उच्च गुणस्तरको हुने दावी गरिएको छ । उद्योगले पहिलो चरणमा एलभीपी १०० एमएलदेखि तीन हजार एमएलसम्म र दोस्रो चरणमा एसभीपी औषधि उत्पादन गरिनेछ । एसभीपी अन्तर्गत एक एमएलदेखि २० एमएलसम्मका औषधिहरू तयार हुनेछन् । तेस्रो चरणमा भने आँखा र कानको ड्रप उत्पादन गरिने लक्ष्य राखिएको छ । नेपालमा एलभीपी क्षेत्रमै पहिलोपटक पूर्णरूपमा स्वदेशी उत्पादन गर्ने कम्पनी बन्ने दाबी ठाकुरको छ ।
उद्योग स्थापना पूर्णरूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप रहेकोले यसको गुणस्तरमा कुनैपनि कमी हुननसक्ने दावी छ । उद्योगका उत्पादनहरु परीक्षण अवधीमा रहेका कारण औषधी व्यवस्था विभागले बिक्रीका लागि अनुमति दिईनसकेको जनाइएको छ । साउनसम्ममा यसका उत्पादनको अन्तिम परीक्षणपछि प्रयोगका लागि बजारमा पठाईने दावी गरिएको छ । ठाकुरले भने–मुखबाट हामीले सेवन गर्ने औषधी पेटमा पुग्दा त्यसबाट हुनसक्ने नकारात्मक प्रतिक्रिया त्यति खराब हुँदैन, जति रगतबाट मानव शरीरमा पुग्ने इलेक्ट्रोरल मेडिसिनले गर्छ । त्यसैले पनि हामीले यसको अन्तिम परीक्षण गर्दासम्म मानव स्वास्थ्यलाई यसले पु¥याउने लाभबारे सोच्नुपर्दछ ।
औषधि उद्योगले विराटनगरमा तत्कालै १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ । दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापन प्रणाली प्रयोग गरेर उच्चस्तरको औषधि उत्पादन हुँदा त्यसले आन्तरिक खपतलाई बढाउन मद्दत माग्ने उनको बुझाई छ । उनले आन्तरिक रुपमा औषधीहरु उत्पादन हुँदा आयातितको खपत घटाउन सरकारले केहि नीतिगत सुधार गर्नुपर्ने माग समेत गरेका छन् ।
नेपालको औषधि बजारमा करिब ६० प्रतिशत औषधि विदेशी कम्पनीहरूले ओगटिरहेको दाबी उनको छ । नेपालमा उत्पादन भईरहेका औषधी समेत आयात गरेर खपत हुने गरेको बताउँदै उनले भने–देशका एकसय औषधी उद्योगमध्ये ७५ सञ्चालनमा छन् । त्यसमध्ये ४० उद्योगले मुखबाट सेवन गर्ने औषधी उत्पादन गर्दै आएका छन् । तर, पनि सरकारले त्यहि औषधी आयात गर्न सहजीकरण गरिरहेको छ ।