विराटनर । गृहमन्त्री रमेश लेखकले खुल्ला सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई कडा निर्देशन दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार विराटनगरमा उद्घाटनपछि गृहमन्त्री लेखकले औपचारिक आयात विस्थापित हुने गरी भईरहेको तस्करी नियन्त्रण हुनुपर्ने बताएका हुन् ।
उनले औपचारिक मार्गबाट भित्रने बाहेकको कारोबारले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको बताउँदै कोशी प्रदेशमा सीमा जोडिएका जिल्लाबाट हुने चोरी पैठारी ३० दिनभित्र नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई निर्देशन गरेका हुन् । अपराध बढाउने, राजस्व घटाउने तस्करी ३० दिनभित्र रोकियोस् नत्र गृहमन्त्रालयले अर्को एक्सनमा जान्छ गृहमन्त्री लेखकले कडा निर्देशन दिदैं भनेका हुन् ।
सुरक्षा गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाबाट प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको छ ।
गृहमन्त्री लेखकले सुरक्षाजन्य नयाँ चुनौतीहरुलाई सामाना गर्न गम्भीर बन्नुपर्ने बेला आएको बताउँदै आफ्नो जिम्मेवारीमा गम्भीर बन्न आग्रह गरेको थिए । उनले लागुऔषध, सवारी दुर्घटना, आत्महत्या जस्ता घटना न्युनीकरणमा विशेष भूमिका जरुरी रहेको बताएका छन् ।