विराटनगरका सडकमा ड्यूटीका ट्राफिक, रिचार्जदेखि रजनीगन्धासम्म माग्ने आरोप लगाउँछन् चालक

<span class='c1'>विराटनगरका सडकमा ड्यूटीका ट्राफिक, रिचार्जदेखि</span> <span class='c2'>रजनीगन्धासम्म माग्ने आरोप लगाउँछन् चालक</span>

प्रेम देवान
विराटनगर । विराटनगरमा विगतको भन्दा सवारी साधनको चाप ह्वात्तै बढेको छ । सवारी चापका कारण विस्तार भएका सडक साँघुरो हुन थालेका छन् । शहरको ट्राफिक व्यवस्थापन अव्यस्थित छ । त्यसका कारण सडक नै पार्किङ छन् सवारीका लागि । पार्किङ्गमा सामुहिक अवधारणा कार्यन्वयनमा आउन नसक्दा सडक सवारी गुड्ने मात्रै नभई पार्किङ गर्ने स्थान समेत बनेको छ । जसले भएको सडकलाई अझै साँघुरो बनाउँदै आएको छ ।

रातदिन ड्युटीमा खटिने ट्राफिक प्रहरी सक्रिय देखिन्छन् । तर, पनि विराटनगरमा उनीहरुको एकल प्रयास सफल हुँदैन । घाम र पानी ड्युटीमा खटिने उनीहरु बेलामौका हैरान सुस्ताउन सडकमै मोवाइल झिकेर एकोहोरो भईरहेका पनि देखिन्छन् । ट्राफिकले सडकमा मोवाइल हेरेको देख्दा उनीहरुले ड्यूटी बिर्सेको आरोप खेप्छन् । यति मात्रै हैन कतिपय चालक, त्यसमा पनि सिटीका धेरैले ट्राफिक प्रहरीले दूःख दिने गरेको आरोप लगाउने गरेका छन् । सवारी चालकहरूले ट्राफिक प्रहरीप्रति असन्तुष्टि जनाउँदै भन्छन्– साना–साना व्यक्तिगत लाभको अपेक्षा गर्ने गरेका छन् ।

सवारी चालकहरूको भनाइमा, नियम उल्लङ्घन नगरे पनि कतिपय ट्राफिक प्रहरीले निरीक्षणका नाममा अनावश्यक झन्झट दिने गरेका हुन् । सीमा क्षेत्र रानीदेखि विराटनगरसम्म सिटी सफारी चलाउँदै आएका विकास रायले सबै कागजात देखाउँदा समेत रोकेर रजनीगन्धा छ ? भनेर लिने गरेको आरोप लगाए ।

बढी मात्रामा सिटी सफारीलाई दुःख दिने गरेको चालकहरुको गुनासो छ । कहिलेकाही केही गल्ति भेटिहाले पनि नियम अनुसार चिट काट्नुपर्ने हो तर नकाटी सिधै नगद ५ सय माग्छन् रायले आरोप लगाए । चेकजाँच कै क्रममा कुनामा लगेर अझ कतिपय अवस्थामा ‘रिचार्ज कार्ड छ ?’ वा ‘रजनीगन्धा छ भने देउ’ जस्ता माग समेत गर्ने गरेको धेरै सिटी सफारीहरुको गुनासो छ ।

सिटी सफारीका चालक भन्दा धेरै गुनासो सार्वजनिक यातायात सवारी साधान चलाउनेहरुको छ । यात्राको क्रममा बीच सडकमा नै रोकेर दुःख दिने गरेको बस चालकहरु आरोप लगाउँछन् । जरिवाना तिराउनु आफ्नो ठाँउमा छ तर अपशब्द बोल्दै गाली गर्दा चाही साह्रै चित्त दुख्छ, विराटनगर काकडभिट्टा बस चलाउदै आएका सगरमाथा यातायातका चालक मुकुन्द विश्वकर्मा सुनाउँछन् ।

‘गाली त यहाँ सम्मको दिने गरेका छन् कि, गाडीमा सवार यात्रुहरुलाई समेत अफ्ठयारो हुने स्थिति आउँछ, आफै अनुभव गरेको छु।’ यात्राको क्रममा प्रहरीले गाडी रोके पनि गाली नरोके पनि गाली आउने गरेको छ, बोल्दा पनि अति नै होच्याएर बोल्ने गरेको विश्वकर्माको गुनासो छ ।
अधिकांश ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जरिवाना वापत रसिद दिनुपर्ने हुन्छ । तर, पछिल्लो समय चिट काट्दा चालकले भोग्नुपर्ने समस्याबाट जोगिने विकल्प खोजिरहेका हुन्छन् । त्यस्तोमा ट्राफिक प्रहरीले लेनदेनका लागि बुथ नै तोकेर पैसा संकलन गर्ने गरेको गुनासो समेत गरिन्छ । नजानिदो र नदेखिने पारामा आफैं लिनुभन्दा होटल, किराना, पान पसल, फलफुल पसलमा लगेर राख्न लगाउने गरेको एक सिटी सफारी चालकले बताए । उनका अनुसार यस्ता बुथहरु शहरका विभिन्न स्थानमा छन् । चालकहरुले ट्राफिक प्रहरी आफ्नै कारणले विश्वास गुमाईरहेको दावी गर्दछन् । त्यहि भएर नियम पालना गराउन समेत उनीहरु कमजोर भईरहेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक राजन लम्सालसँग यस विषयमा बुझ्दा उनी आरोपको खण्डन गर्दछन् । उनले आरोप लगाउनेले प्रमाण लिएर कार्यालयमा आए कारवाही गरेर देखाउने बताए । उनले सवारी चालकले आवश्यक कागजात नबोकेको खण्डमा सामान्य सोधपुछ गर्नुपर्ने ट्राफिक प्रहरीको कर्तव्य रहेको बताए । दुःख नपाउनको लागि सवारी चालकले यात्राको क्रममा आवश्यक कागजजात र ट्राफिक नियम उल्लंघन गर्न छोड्नुपर्ने उनको अनुरोध छ ।

‘कानुन बमोजिम उनीहरु हुँदैनन्, कानुन झेल्न पनि चाहँदैनन अनि दोष ट्राफिकलाई लगाउँछन्’ मोरङका ट्राफिक इन्चार्ज लम्सालले भने–कहाँनेर पैसा बुझाउन भन्यो, त्यसको प्रमाण सुरक्षित गरेर हाम्रो हटलाइनमा फोन गर्न अनुरोध गर्दछु । उनले भने–‘हामी अनुशासनमा काम गर्छौं, तर यदि कसैले यस्ता व्यवहार गरेको प्रमाणसहित उजुरी दिनुभयो भने, विभागीय कारबाही अवश्य हुन्छ । यस्ता घटनालाई हामीले पनि गम्भीर रूपमा लिएका छौं ।’

रिचार्ज कार्ड वा रजनीगन्धा जस्ता साना वस्तु माग्नेमात्र होइन, जिम्मेवारीको दुरुपयोग गर्नु ट्राफिक प्रहरीजस्तो संयन्त्रका लागि गम्भीर विषय हो । सम्बन्धित निकायले यस्ता आरोपको छानबिन गरी आवश्यक कारबाही गर्ने हो भने मात्र जनताको विश्वास पुनःस्थापना हुन सक्छ । तर, कानुन छलेर चालक आफैंले ड्यूटीका प्रहरीलाई प्रभावमा पार्नुपनि कानुनको उल्लंघन नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्