विराटनगर । अत्याधिक गर्मीका कारण विराटनगरमा विद्युत् सेवामा गम्भीर समस्या देखिएको छ। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले आज(बुधबार) जारी गरेको विज्ञप्ति अनुसार बढ्दो गर्मीले विद्युतको माग अत्याधिक बढाएपछि वितरण ट्रान्सफर्मरहरूमा लोड असन्तुलन र ओभरलोडिङको समस्या भएको छ।
प्राधिकरणका अनुसार यस समस्याका कारण ट्रान्सफर्मरहरूको फ्युज पड्किने, केबल सकेटहरू पग्लिने वा जल्ने, केबलमा क्षति भएर विद्युत् आपूर्ति अवरुद्ध हुने, ट्रान्सफर्मर ट्रिप हुने र भोल्टेज अस्थिरता जस्ता समस्याहरू उत्पन्न भएका छन्।
यी समस्याहरूको तुरुन्त पहिचान र समाधानका लागि प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर कार्यरत रहेका विराटनगर वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणले स्थानीयवासीहरूलाई आफ्नो टोल छिमेकका ट्रान्सफर्मरहरूमा फ्युज पड्किएको, धुवाँ वा आगो देखिएको अथवा असामान्य आवाज आएको जस्ता अवस्था देखिएमा तुरुन्त ०२१–५७१७५१ र ०२१–५७६८५१ नम्बरमा जानकारी गराउन आग्रह गरेको छ। साथै प्राधिकरणले ग्राहकहरूलाई अत्यधिक लोड भएका विद्युतीय उपकरणहरू एकै समयमा प्रयोग नगरी विद्युत् सेवालाई सुरक्षित, भरपर्दो र स्थिर बनाउन सहयोग गर्न अनुरोध गरेको छ।
हालको परिस्थितिबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले क्षमा प्रार्थना व्यक्त गरेको छ।
फोटो:फाइल