इन्दु साह
विराटनगर । न्यायिक सेवा प्रवाहमा समावेशिता र मानवियतामूलक दृष्टिकोण अपनाउँदै जिल्ला अदालत मोरङले आफ्नै परिसरमा स्तनपान कक्ष र महिला जेष्ठ नागरिक विश्राम कक्ष सञ्चालनमा ल्याएको छ । अदालती काममा उपस्थित हुने आमाहरूलाई स्तनपान गराउन उपयुक्त र सुरक्षित स्थान उपलब्ध गराउने उद्देश्यले अदालतले यो व्यवस्था गरेको हो। दैनिक जसो सयौं सर्वसाधारण नागरिक अदालतमा विभिन्न मुद्दा तथा कानुनी प्रक्रियाका लागि आउने गर्छन्। तीमध्ये धेरै महिला, आमा र जेष्ठ नागरिकहरू पनि हुने गर्छन् । जसका लागि लामो समयसम्म कुर्नु, गर्मी झेल्नु वा विश्राम गर्न नपाउनु जस्ता समस्या सामान्य भइसकेका थिए । यी समस्याहरूलाई न्युनिकरण गर्ने प्रयास स्वरूप अदालतले स्तनपान, महिला तथा जेष्ठ नागरिक विश्राम कक्षको स्थापना गरेको हो।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार न्यायिक प्रक्रियामा महिलाको पहुँच सहज बनाउने उद्देश्यले यो स्तनपान कक्ष स्थापना गरिएको हो । अदालत जस्तो संवेदनशील संस्थामा बालबालिका सहित आउने आमाहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिनु हाम्रो दायित्व हो बुढाथोकिले भने । साथै, अदालत आउने महिला जेष्ठ नागरिकहरूका लागि पनि विश्राम गर्न मिल्ने सुविधा उपलब्ध गराइएको छ ।
बढाथोकीले विराटनगरको अत्यधिक गर्मीका कारण अदालत आउने जेष्ठ नागरिकहरू विशेषगरी महिलाहरूलाई असहज हुने अवस्था देखिएको र त्यसलाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको बताए । जिल्ला अदालत मोरङले भविष्यमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सेवा उपभोगकर्ताको सुविधाका लागि थप संरचनागत सुधार र नविनतम प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार गर्ने योजना बनाएको जनाएको छ। पछिल्लो समय जिल्ला अदालत परिसरका संरचनाहरु सुविधासम्पन्न बनिरहेका छन् ।
साथै विराटनगरका सरकारी निकायहरुमा स्तनपान कक्ष निर्माण गर्न थालिएको छ। केहि महिना अगाडि विराटनगर महानगरपालिकाको परीसरमा पनि स्तनपान कक्ष निर्माण गरीएको छ । साथै बस पार्क, जिल्ला प्रसासन कार्यलय लगायतका स्थानमा संचालनमा छ । यसले आमाहरुलाई सरकारी निकायमा सेवा लिन जादा सहज पुर्याउने छ ।