इन्दु साह
विराटनगर । विराटनगर लगायतका शहरी क्षेत्रहरूमा सिटी रिक्सा सार्वजनिक यातायातको सहज र वातावरणमैत्री माध्यमका रूपमा लोकप्रिय बन्दै गइरहेका छन् । थोरै लगानीमा आम मानिसका लागि रोजगारीको माध्यम बनेको सिटी रिक्सा सञ्चालन व्यवसाय यतिबेला विभिन्न नीतिगत समस्यामा अल्झिएको छ । विकल्कप एन अल्टरनेटिभको आयोजनामा सिटी रिक्सा लाइसेन्स, इन्स्युरेन्स तथा व्यवस्थापनसम्बन्धी समस्या विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक बसन्त अधिकारीले सिटी रिक्सा चालकहरूलाई लाइसेन्स लिने प्रक्रियामा भोग्नुपरेको जटिलता गम्भीर चुनौतीको रूपमा देखिएको बताए ।
लाइसेन्स लिने प्रक्रिया बन्यो बाधक
सिटी रिक्सा चालकहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर, शैक्षिक योग्यता न्यून तथा सीपको अभाव रहेको हुँदा लिखित परीक्षा पास गर्न कठिन भएको छ । यस्तै, लाइसेन्सका लागि आवश्यक कागजात, खर्चिलो प्रक्रिया, र सैद्धान्तिक परीक्षणले गर्दा धेरै चालकहरू बिना लाइसेन्स नै सवारी सञ्चालन गर्न बाध्य छन्।
परीक्षा सरल र व्यावहारिक बनाउने सुझाव
कार्यक्रममा सहभागीहरूद्वारा लाइसेन्स परीक्षा सरल भाषामा र व्यावहारिक शैलीमा लिने व्यवस्था मिलाउन सुझाव दिइएको छ । साथै चालकहरूका लागि अनिवार्य सीपमूलक तालिम, सवारी नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा इन्स्युरेन्सको सुनिश्चितता गरिनुपर्ने माग गरिएको छ।
सामाजिक सुरक्षाको समेत उठ्यो सवाल
चालकहरू दुर्घटनामा परेमा उनीहरू र उनका परिवारलाई कुनै सुरक्षा सुविधा नहुँदा थप समस्या उत्पन्न हुने भएकाले इन्स्युरेन्सको व्यवस्था अपरिहार्य भएको वक्ताहरूको भनाइ थियो। जीविकोपार्जनमा संकट निम्त्याउने प्रणालीगत बाधाहरू तत्काल समाधान गर्न स्थानीय सरकार र सम्बन्धित निकायहरूलाई पहल गर्न आग्रह गरिएको छ।
साक्षरता र भाडादर सम्बन्धी माग
सिटी रिक्सा चलाउने अनुमति दिने प्रक्रिया अघि साक्षरता सुनिश्चित गर्नुपर्ने, जनचेतना अभिवृद्धि गर्न सामूहिक अभियान सञ्चालन गर्नुपर्ने सुझाव कार्यक्रममार्फत दिइएको छ। साथै, चालकले लिने भाडादरको दररेट पनि स्पष्ट र नियमन गरिनुपर्ने माग गरिएको छ।
नीतिगत समाधानका लागि सञ्चारको भूमिका
विकल्प एन अल्टरनेटिभले सिटी रिक्सा व्यवस्थापन र चालकहरूको जीवनस्तरसँग जोडिएका समस्याहरूलाई सम्बोधन गर्न संचार माध्यममार्फत स्थानीय निकायको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको छ ।