विराटनगर । अस्पताल सञ्चालनका लागि वहालमा लिइएको भवनको भाडा भुक्तानी गर्न दिइएको चेक बाउन्स भएपछि श्री अस्पताल विराटनगरका सञ्चालक सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर आरोपमा यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनी आफैं डाक्टर समेत हुन् । डेन्टिस्ट यादवले २०७८ सालदेखि श्री अस्पताल सञ्चालनका लागि अस्पताल चौकको घर भाडामा लिइएका थिए । घर धनि सुषमा सिंहले पाउनुपर्ने भाडा नबुझाएपछि दश महिनायता विवाद सिर्जना हुँदै आएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले यादवलाई दुईजनाको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको जानकारी दिएकी छिन् । उनका अनुसार सिंहलाई घर वहाल सम्झौता अनुसारको १९ लाख र अर्का अशोक यादवको १३ लाखको चेक बाउन्स भएको आरोप यादवलाई छ । सिंह घरधनी हुन् भने अशोक यादव सुनिलसँग यस अगाडीका साझेदार हुन् ।
यादवले २०७८ सालदेखिको भाडा बुझाउन आनाकानी गर्दै आएका थिए । यो घर रामप्रसाद मेहताको थियो । उनीसँग अस्पताल चौकका औषधी व्यवसायी राजेश अग्रवालले श्री अस्पताल सञ्चालन गर्न घरभाडामा लिइएका थिए । दशवर्षसम्म अग्रवालहरुले भाडामा लिएर अस्पताल चलाए, पछि बन्द भएको थियो ।
मेहताको निधन भएपछि यो घर सुषमा सिंहको नाम छ । उनीसँग यादवले भाडामा लिइएको घरको वहाल सम्झौता २०८० सालमा नविकरण भएको थियो । तर, वहाल नविकरण गरेपनि उनले सम्झौताको पालना भने गरेनन् । उनले दश महिना अगाडी भाडा वापतको रकम उल्लेख भएका चेक दिएका थिए । मासिक भुक्तानी हुने गरि दिएका १९ लाख बराबरको चेक नै बाउन्स भएको थियो ।
यादवले सिंहसँग वहाल सम्झौता गरेर अर्का सुनिल रायलाई घर भाडामा दिएपछि विवाद झन् चर्केको थियो । सिंहसँग नजिक भएर काम गर्दै आएका लक्ष्मण साहका अनुसार रायले केहि महिना भाडा दिएपछि यादवले रोकेका थिए ।
वहाल सम्झौता आफैं गरेका यादव विरुद्ध घरधनी सिंहले न्यायिक समिति विराटनगरमा उजुरी दिएकी थिइन् । न्यायिक समितिले यादव विरुद्ध फैसला गरेको थियो । यादवले दिएका चेक बाउन्सबाट पीडित अन्य समेत रहेको साहले बताएका छन् । उनका अनुसार बारम्बार सम्झाउँदा समेत उनले भाडा वापतको रकम नदिएर उल्टै दवाव दिन थालेपछि चेक बाउन्समा गराउनु पर्ने स्थिति आएको हो । पक्राउ परेका यादवलाई छुटाउन चलखेल भईरहेको बताइएको छ ।