विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् ।
अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् ।
तामाङ २०८० चैत २३ गते चार वर्षे कार्यकालका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । तर २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले तामाङलाई पदबाट हटाएका थिए ।

तामाङलाई हटाएर २०८१ माघ १७ गते सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बोर्ड बैठकले सुरज श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो ।
पदच्युत गरेपछि तामाङले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त परामादेशको माग गर्दै रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा आदेश जारी गर्दै पूर्वस्थितिमा बहाल गर्न निर्देशन दिएको हो । अदालतको आदेशलाई आधार बनाएर तामाङले मंगलबार अध्यक्षको कार्यभार पुनः सम्हालेका हुन् ।