विराटनगर । विराटनगरमा आगामी असार ७ गते शनिबार योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । ११ औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर विराटनगरको होटल मनास्लु इनको सभाहलमा कार्यक्रम आयोजना हुने भएको हो ।
आयोजक पं.घनश्यामचन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले कोशी प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रम्हकुमारी राज योग, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्यूनिटी, ओशो, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको संयुक्त सह–आयोजनामा प्रतियोगिता गर्ने भएको हो ।
कोशी प्रदेशस्तरीय योग खेलकुद प्रतियोगिताको मुख्य इभेन्ट फ्रिस्टाइल योग आसन रहेको छ । यस अन्तर्गत अगाडी झुक्ने आसन, पछाडी झुक्ने आसन, घुमाउरो आसन, हातको सन्तुलन र खुट्टाको सन्तुलनका विधा रहेका छन् । मुख्यमन्त्री हिक्मतकुमार प्रमुख अथिति रहने कार्यक्रममा ५० जना प्रतिस्प्रर्धी सहभागी गराईने छ । तीन उमेर समुह रहने छन् । जसमा युवा समुह ९ देखि १९ र २० देखि ३५ वर्ष र वरिष्ठ समुहमा ३५ वर्षमाथि हुनेछन् । सुरुमा तीन समुहमा प्रतिस्पर्धा भएर उत्कृष्ट तीन छनौट गरिने छ । त्यसपछि तीन समूहका उत्कृष्टबीच प्रतिस्पर्धा गराइने आयोजक पं.घनश्यामचन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेलले जानकारी दिएका छन् ।
कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार ५ लाख रुपैँया प्रदेश खेलकुद विकास बोर्डले उपलब्ध गराउने छ । कार्यक्रमको निर्णायकको रुपमा अन्तराष्ट्रिय योग खेलकुद प्रशिक्षक डा.संग्राम पुरी आउने जनाइएको छ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई मिस्टर योग र मिसेज योगी घोषणा गरिने छ । प्रतियोगितामा महिला र पुरुषको अलगअलग सहभागी हुनेछ ।