विराटनगर । सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ।
१४ वटा जिल्ला रहेको कोशी प्रदेशमा शुक्रबार एक समारोहबिच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो।
उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका छन्। सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भएमा मात्र सवारी साधन दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उहाँले उल्लेख गर्नुभयो। यसलाई नियन्त्रण गर्न यातायात व्यवसायीहरूले पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ।
मुख्यमन्त्री कार्कीले दुर्घटनाको अवस्था भयावह भएको उल्लेख गर्दै यसका लागि सबैको सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको औंल्याउनुभयो। उहाँले दुर्घटनाबाट सयौंको संख्यामा मानिसहरूको मृत्यु भइरहेको र हजारौं घाइते भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि चालक, सहचालक र व्यक्ति स्वयं सचेत र सतर्क हुनुपर्ने बताउनुभयो।
प्रदेश सरकारले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न आवश्यक स्रोत साधन सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले ट्राफिक प्रहरीको संख्या बढाउन पनि प्रहरी तयार हुनुपर्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सडक सुशासन कायम गर्दै दुर्घटना रोक्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन इटहरीका प्रमुख एसपी बिनोद घिमिरेले सवारी साधन दुर्घटना भयावह बन्दै गएको बताउनुभयो। सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उहाँले बताउनुभयो। भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरू गरिएको उहाँले जानकारी दिनुभयो।
एसपी घिमिरेका अनुसार कोशी प्रदेशमा साना ठूला गरी पाँच लाख सवारी साधन संचालनमा रहेका छन्। वार्षिक ३ हजार ५६३ सडक दुर्घटना हुने, ३९७ जना सवारी साधन दुर्घटनाबाट मृत्यु र ६ हजार ७६ जना अङ्गभङ्ग तथा घाइते हुने गरेका छन्। यस आर्थिक वर्षमा हालसम्म ५ हजार १५४ सवारी साधन दुर्घटनाबाट ३८१ जनाको मृत्यु र ८ हजार ४८८ जना अङ्गभङ्ग तथا घाइते भएको उहाँले बताउनुभयो।
चालक र सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उहाँले बताउनुभयो।
एसपी घिमिरेले दुर्घटनाका मानवीय कारणहरूको विश्लेषण गर्दै भन्नुभयो,५३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण देखिएको छ। १६ प्रतिशत दुर्घटना चालकको लापरवाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी साधन चलाउने र ७ प्रतिशत दुर्घटना चालकले अनुमतिपत्र नलिएर भएको देखिएको छ।
सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक र्याली निकालिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजनमा निकालिएको र्याली महेन्द्र चोक हुँदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम सम्पन्न भएको थियो। ट्राफिक सप्ताहभरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो।
यो ट्राफिक सप्ताहले सवारी साधन दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सबै सरोकारवालाहरूको सक्रिय सहभागिताले मात्र यो अभियान सफल हुने विश्वास लिइएको छ।