इन्दु साह
विराटनगर । घरेलु श्रमिक महिलाहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । विराटनगरमा महिला मानवअधिकार, सामाजिक पुनःस्थापनासम्बन्धी सरोकारवाला निकायबीच शुक्रबार साझा छलफल भएको हो ।
महिला पुनःस्थापन केन्द्र (ओरेक) को आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत मोरङ, सुनसरी र उदयपुर जिल्लाका महिला अधिकारकर्मी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, श्रम तथा न्याय क्षेत्रका अधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा घरेलु श्रमिक महिलाहरूले आफ्ना भोगाइ प्रस्तुत गर्दै भने एक घरमा १५ सय देखि ३ हजार रुपैयाँ मात्र पाइन्छ । त्यसैले पाँचदेखि सातवटा घरमा काम गर्दा पनि न्युनतम पारिश्रमिक पुग्दैन, गुजारा चल्दैन । उनीहरूका अनुसार बिहानदेखि बेलुकासम्म काम गरे पनि बढीमा १० हजार रुपैयाँसम्म मात्रै कमाई हुने गरेको छ । तर, सरकारले तोकेको न्युनतम पारिश्रमिक १७ हजार रुपैयाँ कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई छ ।
महिला पुनःस्थापन केन्द्र विराटनगरकी प्रमुख शोभा बजगाईंले महिलाको श्रमको सम्मान, श्रमिक अधिकारको संरक्षण र सामाजिक पुनःस्थापनाको सवालमा सबै निकायबीच सहकार्य अपरिहार्य भएको बताइन् । छलफलमा सहभागीहरूबीच घरेलु श्रमिक महिलाहरूको श्रम अधिकार, न्यायसम्मत पहुँच, पारिश्रमिकको सुनिश्चितता, श्रम अनुगमन प्रणालीको कमजोरी र पुरुषको तुलनामा महिलाले पाउने पारिश्रमिकमा हुने असमानताका विषय उठाएका थिए । यी श्रम सम्वन्धि स्थानीय सरकारदेखि प्रदेश तहसम्मको समन्वय, श्रम ऐनको प्रभावकारी कार्यान्वयन, श्रमिक महिला लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार, र श्रमिक यथास्थितिको नियमित अनुगमन आवश्यक रहेकोमा बजगाईले बताईन् ।
ओरेक केन्द्रीय अध्यक्ष रेणुराज अधिकारीले श्रमको न्युनतम पारिश्रमिक महिला र पुरुषबीच समान हुनुपर्ने बताइन् । उनले तर, महिलालाई पुरुष सरह समान ज्याला नदिने गरेको बताउँदै यो कानुन विपरित हुने धारणा राखिन् ।