विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा चार विद्यालय विजयी भएर दोस्रो चरणमा प्रवेश गरेका छन् । विराटनगर–१ पोखरीयामा सोमबार भएको खेलमा जनपथ स्कुल, डनबस्को, आदर्श र केएमसी स्कुल विजयी भएर दोस्रो चरणमा पुगेका हुन् ।

पहिलो खेलमा जनपथ माविले देवकोटा माविलाई ५–० गोलले पराजित गर्यो । जनपथको जितमा विशाल मलिकले दुई गोल गर्दा प्रशान्त ऋषिदेव, अरुण मलिक र करण राईले समान १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच विशाल मलिक घोषित भए ।
दोस्रो खेलमा डनबस्को स्कुलले गोदावरी स्कुललाई ३–० गोलले पराजित गर्यो । डनबस्कोको जितमा प्रकाश कामत, नितेश राजवंशी र विधान भण्डारीले समान १–१ गोल गरे। निकुश खतिवडा खेलको प्लेयर अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा आदर्श माविले शारदा स्कुललाई ३–१ गोलले हरायो । आदर्शको जितमा युसन लिम्बु, सलोक बस्नेत र करण यादवले समान १–१ गोल गर्दा शारदाका सुवास ऋषिदेवले सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ द म्याच आदर्शका युसन लिम्बु घोषित भए ।
चौथो खेलमा केएमसी स्कुल बोर्डिङ स्कुलले गोग्रा माविलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । खेलको प्लेयर अफ द म्याच केएमसीका गोलकिपर साजिद अख्तर घोषित भए ।
वडा नम्बर १ कार्यालय विराटनगर महानगरपालिकाको सह आयोजनामा तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्रायोजनमा चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड कप फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको छ ।