मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार बिहान खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो ।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमै केवल एक विकेट गुमाएर पूरा गर्यो ।
पहिलो विकेट शुरूमै गुमाएको नेपाली टोलीको जितमा प्रसिद्ध जैसीले अविजित २८ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान प्रसिद्धले ३४ बलको सामनागरी दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान शिवांस बजगाईंले पनि टोलीको खातामा अविजित २२ रन थपे ।
तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएका उनले ३३ बलको सामना गरी चार चौका पनि हिर्काए । ओपनर जोय थापा भने सात बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा सात रन पायो ।
यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको जापानले ३४.३ ओभरमै अलआउट हुनुअघि ८० रनमात्र बनाउन सकेको थियो । जापानी टोलीका ब्याट्सम्यानहरू खेलको प्रारम्भदेखि नै नेपाली बलरको दबाबमा परेका थिए । जापानका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका चार्ली हराहिन्जले सर्वाधिक ३६ रन बनाएका थिए ।
टोलीका कप्तानसमेत रहेका चार्लीले ४८ बलमा चार चौका पनि प्रहार गरे । गाबी हराहिन्जले टोलीको खातामा १३ रन थपे । जापानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै जापानले पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।
जापानका तीन ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । नेपाली टोलीका उदीयमान स्पिनर शुभम खनाल एक्लैले पाँच विकेट लिए । उमेरले भर्खरै १४औँ वर्षमा प्रवेश गरेका उनले १० ओभरमा तीन मेडन राख्दै केवल १५ रन खर्चिए । यो उनको उत्कृष्ट प्रदर्शन पनि हो ।
अभय यादवले पनि दुई विकेट हात पारे । उनले ६ ओभरमा २५ रन खर्चिए । सुशीलबहादुर रावल र विपिन प्रसाद शर्माले पनि एक–एक विकेट हात पारे । जापानले अतिरिक्त रूपमा केवल ६ रन पायो ।
नेपाली टोली यसअघि आफ्नो पहिलो खेलमा सिंगापुरलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यो खेलमा पनि नेपालका बलर र ब्याट्सम्यान दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जापान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो । जापानले आफ्नो पहिलो खेलमा भुटानलाई दुई सय १५ रनको विशाल अन्तरले हराएको थियो ।
समूह ‘ए’ तालिकामा नेपाल दुई खेलबाट चार अंक बटुल्दै पहिलो स्थानमा उक्लिएको छ । जापान भने दुई खेलबाट दुई अंक जोड्दै दोस्रो स्थानमा झरेको छ । एक–एक खेल खेलेका सिंगापुर र भुटानले अंक बटुल्न सकेका छैनन् ।
उक्त समूहमा रहेको पाँचौँ टोली इन्डोनेसियाले हालसम्म एक खेल पनि खेलेको छैन । नेपालले आफ्नो तेस्रो खेल जुन २९ तारिखमा इन्डोनेसियासँग खेल्नेछ । नेपाली टोलीले समूहगत चरणको आफ्नो अन्तिम खेल भने जुलाई १ तारिखमा भुटानसँग खेल्नेछ ।