विराटनगर । विराटनगरमा केहि समय अगाडीदेखि सिटी सफारीमा चढेका व्यक्तिहरुको सामान हराउने क्रम बढ्दै थियो । बैंकबाट निस्केका सेवाग्राही वा पसलमा सामान खरिद गरेर निस्केका व्यक्तिहरु सिटीमा चढेर यात्रा गर्ने क्रममा प्रायःचोरी हुने घटना प्रहरीसम्म पुगेका थिए ।
तर, संलग्नहरु पक्राउ पर्न सकिरहेका थिएनन् । प्रहरीले चोरीमा संलग्नहरु महिला भएको हुलिया पत्ता लगाएको थियो । तर, उनीहरुको ठेगाना कहाँ हो भन्ने यकिन भइरहेको थिएन । बिहीबार चोरीमा संलग्न आशंका गरिएका महिलाहरु विराटनगर भित्रिएको प्रहरीलाई सूचना प्राप्त भयो । प्रहरीले उनीहरुमाथि निगरानी बढायो, उनीहरुले बैंकबाट निस्कने व्यक्तिको निगरानी गरिरहेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालका अनुसार चोरीमा संलग्न हुँदै आएकाहरुका गतिविधि नियालिरहेको प्रहरीले उनीहरुले सिटी सफारी पक्रेर कटहरीतर्फ लागेको सूचना पायो । त्यसपछि मोरङ प्रहरीले उनीहरुलाई पछ्याउन थाल्यो । प्रहरीको पूर्वानुमान अनुसार नै सिटीमा बैंकबाट रकम झिकेर कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायण प्रसाद काफ्ले पनि चढेका थिए । उनी चढेको सिटी नै महिलाहरुले प्रयोग गरेका थिए । प्रवक्ता चुडालका अनुसार उनीहरु बैंकबाट नगद झिक्ने व्यक्तिलाई पहिल्यै देखि रेकी गरिरहेका थिए । सबै अनुमान मिलेपछि प्रहरीले पिछा गरेको थियो ।
त्यहि क्रममा कटहरी १ बुधहाट पुग्दा प्रहरीले सिटी रोक्यो । रोक्दा काफ्लेसहित भारत पूर्णिया ठेगाना भएकी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी थिए । त्यस क्रममा चेकजाँच गर्दा काफ्लेले आफ्नो ब्यागमा राखेको तीनलाख रुपैँया उनीहरुले चोरी गरेर राखिसकेको अवस्था थियो । प्रहरीले रकम चेक गर्न काफ्लेलाई भन्दा ब्यागमा थिएन । तर, उनीहरुको साथमा खानतलास गर्दा तीनवटा गड्डी भेटियो । जुन काफ्लेले बैंककाट झिकेको जस्ताको त्यस्तै थिए ।
बिहीबार बिहानदेखि प्रहरीले उनीहरुलाई निगरानी गरिरहेको थियो । दिउँसो २ः३० बजे पक्राउ परेका थिए । प्रवक्ता चुडालका अनुसार सिटीमा सवार काफ्ले घातक रोगका बिरामी हुन् । उपचारका लागि उनले रकम झिकेका थिए । प्रहरीले पक्राउ परेका उनीहरुलाई चोरी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।