विराटनगर । भारतले नेपालबाट निर्यात हुने स्यानिटरी प्याड र डाइपरमा बीआईएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) अनिवार्य गरेको छ । त्यति मात्रै नभई अनिवार्य ट्रेडमार्क र पूर्ण प्याकेजिङ भएको मात्रै आयातका लागि अनुमति दिने गरेको छ ।
तर, भारतबाट नेपालमा आयात हुने प्याड र डाइपरमा नेपालले अहिलेसम्म एनएस लगाएको छैन । नेपालका उद्योगीहरुले भारतले लुज प्याकेजिङमा डाइपर र प्याड निर्यात गर्न पनि नदिने र बीआईस अनिवार्य गरेपनि नेपालले यो नीति लिन नसकेको बताउँछन् ।
नेपालमा भने लुज प्याकेजिङमै डाइपर र प्याड आयात हुने गरेको गुनासो उद्योगीको छ । लुज प्याकेजिङमा आयात भएको स्यानिटरी प्याड र डाइपर यहाँ आएपछि अनुकुल प्याकिङ्ग हुने गरेको हो ।
भारतले बीआईएस र प्याकेजिङ तथा ट्रेडमार्कको कुरा उठाएर २०८१ चैत २० गतेदेखि नेपालबाट निर्यात हुने स्यानिटरी प्याड र डाइपरमा रोक लगाएको थियो । तीन महिनासम्म नेपालबाट निर्यात रोकिएपछि अहिले खुलेको छ । निर्यात खोल्नु अगाडी भारतका अधिकारीले नेपालका उद्योगको निरीक्षण गरेको उद्योगीहरुले बताएका छन् । निर्यातका लागि पनि चारवटा उद्योगलाई मात्रै बीआईएस प्रदान गरेको हो ।
नेपालका चार उद्योगमध्ये तीनवटा सुनसरी–मोरङ औद्योगिक करिडोरकै रहेका छन् । उद्योग परिसंघ कोशीका सदस्य तथा हेल्थ हाइजिनका सञ्चालक भावेश राठीका अनुसार जस्मिन आइजिन, हेल्थ एण्ड हाइजिन र विराट हेल्थ इण्डष्ट्रिज र काठमाण्डौंको ब्रजेश्वरी उद्योगले बीआइएस पाएको हो ।
जसमा जस्मिनले प्याड र डाइपर, ब्रजेश्वरीले डाइपर, विराट हेल्थ र हेल्थ एण्ड हाइजिनले प्याड मात्रै निर्यात गर्न पाउने गरी बीआईस दिइएको राठीको भनाई छ । निर्यातको बाटो खोलिएका वस्तु उत्पादन गरेर निकासी सुरु गरिसकेका उद्योगीहरुले भारतबाट आयात हुने प्याड र डाइपरमा समेत उतिकै कसिलो नीति लिन आवश्यक रहेको सुझाव दिएका हुन् । जस्मिन हाइजिनका पुनित शारडाले नेपालमा उत्पादन हुने वस्तुको ट्रेडमार्क भारताट समेत लिनुपर्ने बाध्यतादेखि बीआइएस तथा प्याकेजिङका कुरा उठेको सुनाए । त्यसरी नै नेपालले पनि भारतबाट आयात हुने प्याड र डाइपरका लागि कसिलो हुनु जरुरी रहेको शारडाको भनाई छ ।
नेपालको डाइपर र प्याड निर्यातमा बीआईएस अंकुश लगाएका कारण चालु आर्थिक वर्ष निकासी घटेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चालु आर्थिक वर्षमा १२ करोड ५० लाखको प्याड र २१ करोडको डाइपर निर्यात भएको छ । गतवर्ष ४० करोडको प्याड र २८ करोडको डाएपर निर्यात भएको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको ११ महिनामा ९० करोड ३४ लाखको प्याड र एक अर्ब एक करोड ३४ लाख रुपिँयाको डाइपर आयात भएको छ । गतवर्ष ९० करोडको प्याड र एकअर्ब ४६ करोड २६ लाखको डाइपर आयात भएको थियो ।
उद्योगीहरुले यस अगाडीसम्म लुज प्याकेजिङमै निर्यात गर्न पाइने व्यवस्था भारतले बीआइएसमार्फत रोक लगाएको बताएका छन् । त्यतिमात्रै नभई ट्रेडमार्क र बन्द (सानो) प्याकेजिङको वस्तु मात्रै निर्यात अनुमति दिने जनाएका हुन् ।