विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्रका लागि वैयक्तिक विवरणसहितको अनलाइन आवेदन फारम भर्ने जिम्मा कर्मचारी मिलन केन्द्रबाट खोसेर व्यक्तिलाई दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीस्तरीय निर्णय गर्दै कर्मचारी मिलन केन्द्रबाट आयन्स अनलाइन सेन्टरलाई जिम्मेवारी दिइएको हो ।
आयन्स अनलाइन सेन्टरका सञ्चालक अम्बरबहादुर थापा र विराटनगर महानगरपालिकाबीच भएको सम्झौता अनुसार जिम्मेवारी दिइएको उल्लेख जनाइएको छ । यस अगाडी जिल्ला प्रशासन कार्यालय परिसरमै रहेको सटरमा कर्मचारी मिलन केन्द्रले सर्वसाधारणको अनलाइन आवेदन फराम भराउँदै आएको थियो । तर, कार्यालयको सटर निजी प्रयोगमा दिइएको भन्दै गृह मन्त्रालय र अख्तियारले चासो राखेपछि त्यहाँबाट हटाउनुपर्ने अवस्था आएको दावी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बिनोद कुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका दुईवटा पाटामध्ये व्यक्तिगत विवरण भर्ने कार्यका लागि खुल्ला गरिएको जानकारी दिएका छन् । उनका अनुसार यो कार्य व्यक्ति आफैंले गर्न समेत सक्दछ । जसमा व्यक्तिको आफ्नो विवरण भरेर त्यसको प्रति लिएर बायोमेट्रिकमा जानुपर्ने कार्य हुन्छ । तर, सबैले अनलाइन फारम भर्न नसक्ने स्थितिलाई मध्यनजर गर्दै कर्मचारी मिलन केन्द्रले गरिरहेको काम अर्को फमलाई दिइएको उनले जानकारी दिए ।
उनका अनुसार कर्मचारी मिलन केन्द्रले जिल्ला प्रशासन कार्यालयको सटर प्रयोग गरेर एउटा फारमको एकसय रुपैँया लिदैं आएको थियो । अब नयाँ सम्झौता अनुसार आयन्स अनलाइन सेन्टरले प्रतिव्यक्ति आवेदन भरे वापत ८० रुपैँया मात्रै लिन पाउने व्यवस्था गरिएको पोरखेलले बताएका छन् । उनका अनुसार वैयक्तिक विवरण भरिसकेका सेवाग्राहीको बायोमेट्रिक विवरण लिने कार्यका लागि टोकन प्रणाली अनुसार हुनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले कर्मचारी मिलन केन्द्रलाई कार्यालय परिसरको सटरमा सञ्चालन गरेको व्यसाय हटाउन र त्यहाँका सामान स्थान्तरण गर्न समेत आदेश गरिएको जानकारी दिएका छन् । उनले यो भईरहेको प्रक्रिया अनुसार एक फर्मबाट अर्को फर्मलाई जिम्मेवारी तोकिएको दावी गरेका छन् । यदि कोहि सेवाग्राही ठगिएको वा कुनै मर्कामा परेको गुनासो आएका तत्काल सुनुवाई हुने दावी समेत गरिएको छ ।