विराटनगर, साउन १ , चर्चित व्यवसायिक रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ मा विराटनगरका युवा उद्यमी विक्रान्त कार्कीको नेतृत्वमा रहेको टिमले ठूलो सफलता हात पारेको छ।
कार्कीको टिमले प्रस्तुत गरेको ‘गुडविस’ नामक सफ्टवेयर एण्ड आइटी कम्पनीले कार्यालयहरूमा रोबोटमार्फत कार्य संचालन गर्ने अवधारणा पिच गरेपछि पाँचै जना शार्कहरूले प्रभावित हुँदै २५ प्रतिशत सेयरको सट्टामा २ करोड रुपैयाँ लगानी गरेका छन्।
उक्त लगानी पछि काम गर्न झन् सहज हुने भन्दै विक्रान्त कार्कीले आवर विराटनगरसँगको कुराकानीमा खुशी व्यक्त गरे। उनले भने, “हामीले भविष्यको अफिसलाई अझ स्मार्ट र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौं। यो लगानीले हाम्रो योजनालाई गतिशील बनाउनेछ।”
यस स्टार्टअपको मुख्य विशेषता भनेको कार्यालयमा दैनिक दोहोरिने कार्यहरू स्वचालित रूपमा रोबोटिक प्रणालीबाट सम्पन्न गर्नु हो, जसले समय र स्रोत दुवैको बचत गर्नेछ।
‘गुडविस’ टिमको यो सफलता विराटनगर र समग्र नेपालको प्रविधि क्षेत्रमा युवाहरूको सिर्जनात्मकताको उत्कृष्ट उदाहरण बनेको छ।