विराटनगर । मेगाटेक सोलुसन प्रा.लि. विराटनगरको कार्यालय, पसल तथा गोदाममा ग्लोबल आइएमई बैंकले पनि ताला लगाएको छ । मेगाटेक सोलुसन रहेकै कार्यालयमा अर्को फममार्फत लिइएको ऋण चुक्ता नगरेपछि ग्लोबल बैंकले शुक्रबार ताला थपेको हो । यसका सञ्चालक आशिष धनावत हुन् । उनी कुनैबेला इष्टर्न सिटी अपार्टमेन्टमा कर्मचारीको रुपमा कार्यरत रहेका थिए । त्यहाँ छोडेपछि आशिषले मेगाटेकसहित विराटनगर–३ एची ट्रेडिङ्ग कन्सर्न, विराटनगर–२ श्रीहरी फुड्स प्रा.लि, विराटनगर–७ को मेगाटेक सोलुसनसहित एशियन अल्ट्रा इनर्जी प्रा.लि.को नाममा कारोबार गर्दै आएका थिए ।
ग्लोबल आइएमई बैंकले एशियन अल्ट्रा इनर्जी प्रा.लि.को नाममा मेगाटेककै कार्यालयमा शिलबन्दी गरेको हो । फकरफरक फम दर्ता गरेर एउटै स्टक देखाएर उनले ऋण लिइएको आशंका समेत यसबाट देखिएको छ ।
एकै व्यक्तिले फरकफरक व्यवसायिक फमबाट एकै स्थानको स्टक देखाएर बैंकबाट कर्जा लिएपछि भुक्तानी गर्न नसक्दा बैंकहरुलाई ताला लगाउन भ्याईनभ्याई भएको हो । एकजना उद्योगीका अनुसार धनावतले हिमालय बैंकबाट समेत ऋण लिइएका छन् । जुन बैंकका लागि समेत धितो मेगाटेक सोलुसनकै सामान अर्को फमको नामबाट देखाएको दावी छ ।

कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको बिक्री गर्दै आएको मेगाटेक सोलुसन प्रा.लि.विराटनगरका सञ्चालक आशिष धनावत भने शुक्रबार भारतीय नम्बर प्लेट भएको गाडीमा सपरिवार घरबाट हिडेको बुझिएको छ । उनीसँग सम्पर्क गर्न खोज्दा दुवै नम्बरमा फोन लागेन ।
विराटनगर–७ मेनरोडस्थित मेगााटेक सोलुसन प्रा.लि.को पसल र यसको गोदाममा नविल बैंकले गत बुधबार शिलबन्दी गरेको थियो । व्यवसायी धनावत परिवारले सञ्चालन गरेको विराटनगर–७ स्थित मेगाटेक, विराटनगर–३ स्थित एच.डी.ट्रेडिङ्ग कन्सर्नमा नविलले शिलबन्दी गरेको थियो ।
नविल बैंकले जारी गरेको प्रेस नोटमा मेगाटेक सोलुसन प्रा.लि.ले मौज्दात तथा अन्य सरसामाग्री समेत ऋणकर्जा उपभोग गर्दा बैंकको नाममा हाईपोथिकेसन तथा सुरक्षण लेखिदिएकोमा सम्बन्धित ऋणकर्जा नतिरी कर्जाको शर्तबन्देजहरुको उल्लंघन, बर्खिलाप गरेको उल्लेख छ ।
कर्जा खराब भएपछि ऋणीद्वारा चालु सम्पतिलाई हाइपोथिकेसन गरिन्छ । बैंकमा व्यवसायीले हाइपोथिकेसन सम्झौता गर्नु वास्तविक सुरक्षण नभएर कागजी सुरक्षण मात्रै मानिन्छ । बैंकले व्यक्ति तथा व्यवसायको गुडविल हेरेर मात्रै यस्तो कर्जा प्रवाह गर्न सहमत हुनुपर्ने हुन्छ ।
मेगाटेक सोलुसन प्रा.लि.का सञ्चालक आशिष धनावतसहित श्रीमती परिधी अग्रवाल, बहिनी यशोदा धनावत समेतको नाममा रहेको जग्गा नविलमा धितो राखेर ऋण लिइएको पाइएको छ ।
नविल बैंकमा मेगाटेक, एच.डी. ट्रेडिङ्ग कन्सर्न, र श्रीहरी फुड्स प्रा.लि.को संयुक्त धितोको रुपमा जग्गा राखिएको छ । जसमा परिधी अग्रवालको नाममा रहेको मोरङ ववियाविर्तामा रहेको कित्ता नम्बर ७०, २९९, ६९, २८२, र २८३ को क्षेत्रफल क्रमशः १–९–५–०, ०–१–०–०, ०–५–५–०, र १–६–५–० जग्गा रहेको छ ।
बैंकले चालु सम्पति (मौज्दात तथा उधारो बिक्री) का आधारमा कर्जा प्रवाह गरेर उक्त सम्पतिलाई हाइपोथेकेसन गरेको थियो । यसमा व्यवसायको खराब कर्जा बढ्दै जाँदा बैंकमा चालु सम्पतिको हाइपोथिकेसन गर्ने प्रचलन छ ।
नविल बैंकले गत बुधबार स्थानीय प्रशासन तथा स्थानीय तहका प्रतिनिधिको उपस्थितिमा पसल तथा गोदाममा शिलबन्दी गरेयता धनावतसँग सम्पर्क हुन सकेको छैन । यद्यपी नजिकबाट बुझ्नेहरुका अनुसार आशिषले प्राथमिक सुरक्षणका लागि नविल बैंकमा चालु सम्पतिलाई हाइपोथिकेसन गरेर बाँकी जग्गा, जमिनलाई समेत दोस्रो सुरक्षण देखाएको हुनसक्ने बताउँछन् ।
नविल बैंक कोशी प्रदेशका प्रमुख दिपककुमार श्रेष्ठले यो सामान्य विषय मात्रै भएको प्रतिक्रिया दिएका थिए । उनले सम्बन्धित व्यक्ति सम्पर्कमा आएको बताएका थिए ।
यसैगरी ग्लोबल आईएमई बैंक कोशी प्रदेशका प्रमुख सुलभकृष्ण जोशीले मेगाटेक सोलुसन प्रा.लि. रहेको स्थानलाई नै कार्यालय देखाएर एशियन अल्ट्रा इनर्जी प्रा.लि.बाट लिएको कर्जा चुत्ता नगरेपछि कानुनी प्रक्रियामार्फत नियन्त्रणमा लिने काम भएको बताएका छन् । ग्लोबल आईएमई बैंकले जारी गरेको नोटमा एशियन अल्ट्रा इनर्जी प्रा.लि.को घर÷पसल÷गोदाम÷कार्यालय र तहाँ रहेका स्टक÷सामान÷काठ÷फर्निचर÷मेशिनरी पार्टस÷विभिन्न ब्राण्डका कम्प्यूटर, फोटोकपी, डेस्कटप, मनिटर र अन्य इलेक्ट्रोनिक सामान जेजस्तो अवस्थामा छन् सबै नियन्त्रणमा लिइएको जानकारी गराइएको छ ।
एकै व्यक्तिले एउटै मालवस्तुको स्टक देखाएर विभिन्न बैकबाट ऋण लिएका कारण बैंकहरुबीच अहिले तालाबन्दी गर्ने होडबाजी चलेको हो ।
यस अगाडी देशका विभिन्न क्षेत्रमा कम मूल्यको धितोमा बढी लोन प्रवाह गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ११ जना पूर्व तथा वर्तमान बैंक कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो । जसको कारण थियो, धितो स्वरुप दिइएका घरजग्गा तथा स्थायी सम्पतिको मूल्यांकन भन्दा बढी कर्जा प्रवाह गर्नुथियो ।