विराटनगर । कोशी प्रदेशमा समुदायसँग प्रहरी साझेदारीका कार्यक्रम एकवर्षमा २२ हजार बढी भएका छन् । प्रहरीसँग २ लाख ३८ हजार नागरिक एकवर्षमा कार्यक्रममार्फत जोडिएका हुन् । ‘हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ नारासहित भएको कार्यक्रम सक्षम र सवल बन्दै आएको दावी प्रहरीले गरेको छ ।
समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न खटिने प्रहरीले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन पनि उतिकै प्राथमिकता दिदैं आएको छ ।
कोशी प्रदेशको सुगम देखि अति दुर्गम स्थलहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतनामुलक गतिविधि हुने गरेका हुन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय पालिका, विभिन्न संघ संस्था, बिद्यालयहरुसंगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनिकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साईवर अपराध र बिद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातिय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिका उपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोप लगायत बिभिन्न विषयहरु समेटिने गरेका हुन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा, इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका थिए ।
जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् । कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तररुमा परिचालित छ ।