इन्दु साह
विराटनगर । विराटनगरमा आगामी भदौ १ गते निकालिने राधाकृष्ण रथयात्रा निकालिने छ । पूर्वकै ऐतिहासिक राधाकृष्ण रथयात्राका अवसरमा निस्कने फोहोरको महानगरपालिकाले उचित व्यवस्थापन गर्ने योजना बनाएको छ । रथयात्राको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले पानी, सर्वत तथा प्रसाद वितरण गर्ने परम्परा रहदै आएको छ । त्यसबाट निस्कने फोहोरले सडक तथा वातावरणमा असर पुर्याउने भएकाले महानगरपालिकाले आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।
महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालका अनुसार महानगरपालिकाको स्वीकृति विना प्लास्टिक बोतल, ग्लास, कप, प्लेटजस्ता सामग्री वितरण नगर्न भनिएको छ । साथै महानगरले वितरणको क्रममा निस्कने फोहोर उठाउनका लागि निःशुल्क सरसफाइ सेवा उपलब्ध गराउने व्यवस्था गरिएको दाहालको भनाई छ । उनले भने यदि कसैले सरसफाइ व्यवस्थापन शाखासँग समन्वय नगरी फोहोर उत्पादन गर्ने कार्य गरेमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कानुनी कारबाही हुने छ ।
जलपान तथा पर्साद वितरण लगायतका कार्य गर्न रथयात्रा अगावै महानगरमा जानकारी गपरानुपर्ने हुन्छ । विभिन्न संघ, संस्था तथा व्यक्तिहरूले रथयात्रासम्बन्धी आफ्नो कार्यक्रमको विवरण साउन ३० गतेभित्र महानगरपालिकामा दर्ता गरिसक्नुपर्ने छ । वातावरण संरक्षण तथा सफा सहर अभियानलाई सफल बनाउन सबैको सहकार्य अपरिहार्य रहेको महानगरले जनाएको छ । पछिल्लो वर्ष पनि महानगरपालिकाको फोहोर व्यवस्थापन शाखाले सोहि योजना अनुसार कार्य गरेको थियो ।