ईन्दु कुमारी साह
विराटनगर । बुधवार मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय दिवस नेपालभर विभिन्न कार्यक्रम सहित मनाइँदैछ । मधेश र कोशी प्रदेशका बालबालिका तथा महिलाहरु बेचबिखनको उच्च जोखिममा रहेको पाईएको छ । खुला सिमाना, गरिबी, रोजगारीको अभाव र आकर्षक सपना देखाउने दलालहरूको जालोबीच नेपालबाट भारततर्फ मानव तस्करीको समस्या गम्भीर बन्दै गएको छ । विराटनगर पनि भारतसंग सिमाना जोडिएको ठाउँ हो । विभिन्न समयमा रानी जोगबनी नाका हुदै मानव तस्कर भईरहदा प्रहरीले उद्दार समेत गरेका छन् । यसै गरी भारतको नयाँ दिल्लीमा रहेको गैरसरकारी संस्था ‘किन इन्डिया’ ले वर्षौंदेखि भारतमा फसेका नेपाली नागरिकको उद्दार गरी स्वदेश फिर्ता गराउने कार्य गर्दै आएको छ । विराटनगरमा रहेको बालवालिका खोज तलास गर्ने संस्था तथा प्रदेश सरकारको सहयोगमा पछिल्लो समय १२ जना बालवालिकालाई उद्दार गरी विराटनगर ल्याईएको थियो ।
उनीहरुलाई बेचविखनको उच्च जोखिममा र बालश्रम भईरहेको अवस्थाबाट उद्दार गरिएको हो । संस्थाका निर्देशक नविन जोशीका अनुसार मधेश र कोशी प्रदेशका बालबालिका तथा महिलाहरु बेचबिखनको उच्च जोखिममा छन् । यी प्रदेशहरूबाट बालबालिका बढी संख्यामा तस्करीमा पर्ने गरेको उनको भनाई छ । किन ईन्डियाले विराटनगरका सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय गरी उद्दार कार्य गरेको हो । अहिलेसम्म भारतको सबै राज्यबाट हजारौ नागरिक उद्दार गरी स्वदेश फिर्ता गराईएको निर्देशक जोसीको दावि छ । जोशीका अनुसार हालसम्म भारतका विभिन्न राज्यबाट हजारौं नेपाली नागरिकको उद्दार गरिएको छ । यिनै समस्याविरुद्ध लड्दै आएको छ भारतको नयाँ दिल्लीस्थित एक गैरसरकारी संस्था ‘किन इन्डिया’ । जसले विगतदेखि भारतमा फसेका नेपालीहरूलाई उद्दार गर्दै स्वदेश फर्काउने अभियान चलाइरहेको छ। कोशी प्रदेश लगायत अन्य प्रदेशका नागरिकहरु भारतका विभिन्न राज्यहरूमा काम गर्ने, पढ्ने वा आकर्षक जीवनको सपना देखेर गएका हुन्छन् । तर कतिपय अवस्थामा उनीहरु शोषणमा पर्ने, बन्धक बनाइने र मानसिक–शारीरिक यातनामा पर्ने गरेका छन् । जोशीका अनुसार बेचबिखनमा परेकालाई रोजगार, गाडी, बंगला र राम्रो तलबको सपना देखाएर भारत लगिन्छ ।
तर त्यहाँ पुगेर उनीहरूलाई बन्धक बनाइन्छ, परिवारलाई पैसा माग्न बाध्य पारिन्छ, मानसिक यातना दिइन्छ र केही अवस्थामा त जबर्जस्ती यौनशोषणसम्म गरिन्छ । श्रमको खोजी र खुला सीमाको दुरुपयोगले गर्दा मानव तस्करको चक्रव्यूह झनै बलियो बन्दै गएको छ। यस्तो अवस्था रोक्न दुई देशबीचको सहकार्य र जनचेतना अपरिहार्य बन्दै गएको आजको यो दिवस केवल कार्यक्रम मनाउने दिन मात्र नभई बेचबिखनविरुद्ध आवाज बुलन्द पार्ने दिन समेत हो । ‘किन इन्डिया’ जस्ता संस्थाहरूको प्रयासले नयाँ जीवन पाएका नेपालीहरूको कथा अब शोषण होइन, सम्भावनाको बन्न थालेको छ ।