विराटनगर । विराटनगरमा स्पा र मसाज सेन्टर कति छन् ? ठ्याक्कै यसको नियमन गर्ने निकाय महानगरपालिकासँग तथ्यांक छैन । वडामा दर्ता भएर त्यहि कर बुझाउने भएका कारण यसको एकिकृत तथ्यांक महानगरपालिकामा पुगेको छैन ।
तर, विराटनगर महानगरपालिका भित्र पछिल्लो समय खुलेका स्पा तथा मसाज सेन्टरमा अवैध कार्य हुने गरेको गुनासो भने चौतर्फी बढेको छ । जुन गुनासो विराटनगर महानगरपालिकामा स्पा तथा मसाज सेन्टर सञ्चालन गरिरहेका घरधनी नै गरेका हुन् । जसका आधारमा विराटनगर महानगरपालिकाले स्पा तथा मसाज सेन्टरका नाममा १२ बुँदे शर्त तथा मापदण्ड तोकेर अनुगमन सुरु गरेको छ ।
विराटनगर महानगरपालिकामा नागरिकले गरेका गुनासोका आधारमा तय गरिएका शर्त तथा मापदण्डको १२ नम्बरमा स्पा तथा मसाज सेन्टरमा पंखा वा एसीको प्रवन्ध, साथै ढोकाको भित्रबाट छिटकनी तथा चुकुल लगाउने व्यवस्था नहुनुपर्ने उल्लेख छ । अर्थात सेवाग्राही भित्र प्रवेश गरेपछि ढोकाको छिटकनी लगाउन नपाउने नियममा महानगरपालिका गएको हो ।
यसैगरी जुनसुकै भवनमा सञ्चालन गरेपनि ग्राहकलाई आवातजावत गर्नका लागि छुट्टै सिँढी, भवनको छुट्टै तला वा फ्लाट, भवनको रंगरोगन र सरसफाई, कार्यरत कर्मचारीमा स्पा वा मसाज सम्बन्धी एकवर्षको अनुभव हुनुपर्ने शर्त राखिएको छ । यसैगरी बेड तथा कभर सफा, शौचालय तथा बाथरुम छुट्टै र त्यहाँ आवश्यक सामाग्री हुनुपर्ने, महिला तथा पुरुष दुवै कर्मचारी नियुक्त गरेर उनीहरुको परिचयपत्र, पोशाक लागु गराउनुपर्ने शर्त राखिएको छ ।
यसैगरी स्पा तथा मसाजमा हुने कुन कुन सेवा हो त्यसको मूल्यसूची अनिवार्य राखिनुपर्ने, सेवाग्राहीमा हुनसक्ने संभावित शारिरीक हिंसाको बारेमा संवेदनशील हुने प्रतिवद्धता सञ्चालकले जनाउनुपर्नेछ । महानगरपालिकाको मापदण्ड अनुसार नियमानुसार दर्ता र यससँग सम्बन्धि कर (सम्पति, वहाल तथा व्यवसाय कर) वडा कार्यालयमा दाखिला गर्नुपर्ने, यसैगरी गलत मनसाय राखेर अन्य कार्य नगराउने र सेवा लिएका सेवाग्राहीको अभिलेख अनिवार्य गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
महानगरपालिकाले १२ बुँदे मापदण्ड बनाएको छ । जुन मापदण्ड स्पा तथा मसाज सेन्टरबाट पीडितका आधारमा बनाइएको दावी छ । ‘कतिपय स्पा तथा मसाज सेन्टरले डान्सबारसँग सहकार्य गरेको समेत पाइयो’ महानगरपालिका एक कर्मचारीले भने–डान्सबारमा नाचगान, स्पा र मसाज सेन्टरमा तमाम काम ! उनका अनुसार यो सुचना अहिले स्थानीय सरकार, स्थानीय प्रशासन र प्रहरीसम्म समेत रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले पहिलो चरणमा खुलेका सबै स्पा तथा मसाज सेन्टरलाई मापदण्ड भित्र पार्ने र त्यसपछि पनि गुनासो आएमा कारवाहीमा बढ्न एकिकृत हस्तक्षेप गर्ने योजना राखिएको छ ।
विराटनगर महानगरपालिकामा पछिल्लो समय स्पा र मसाज सेन्टर धेरै खुलेका छन् । तर, महानगरपालिकासँग यति नै संख्या भन्ने एकिकृत तथ्यांक छैन । महानगरपालिका भित्र १३ वटा स्पा सेन्टर रहेको तथ्यांकमा देखिन्छ । तीमध्ये हालसम्म एउटा मात्रै मापदण्ड अनुसार सञ्चालनमा रहेको दावी छ । जताततै देखिरहेको छ, कुन दर्ता छन् कुन छैनन् भनेर यकिन गर्न पनि अनुगमन सुरु गरिएको हो ।
विराटनगरको बजारका व्यस्त देखिने चोकैपिच्छे स्पा र मसाज सेन्टर खुलेका छन् । विराटनगर ३ कन्चनबारीदेखि सुरु भएको विराटनगर ९, १०, १२, १३, १४, १५ मा धेरै रहेका छन् ।
वडा नं. १२ मा रहेको कोहिनुर स्पा सेन्टर र सिटी स्पा एण्ड पार्लर छन् । विराटनगर १५ मा लाईफ लाईन स्पा र ब्लु मुन स्पा मसाज पार्लर रहेको छ । यसैगरी विराटनगर १० मा जसमिन मसाज पार्लर एण्ड स्पा र विराटनर १४ मा खुशी स्पा मसाज सेन्टर संचालनमा छ । अन्यमा माइण्ड एण्ड बडी वेलनेश स्पा, वाईट रोज स्पा प्रा.लि., लुक्सुरयस नेपाल स्पा, हेवेन स्पा एण्ड थेरापी, न्यू ओसियन स्पा रहेका छन् ।