विराटनगर । नेपाल सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने आशयको कानुनी मस्यौदा अघि बढाएको विरोधमा विराटनगरमा त्यसको विरोध गरिएको छ । सोमबार ट्राफिक चौकमा मस्यौदाको विरोध गर्दै प्रदर्शन गरिएको हो । ट्राफिक चोकमा आयोजित कार्यक्रममा महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, गैर–सरकारी संस्थाका प्रतिनिधि तथा सर्वसाधारण नागरिकहरू उपस्थित थियो ।

उनीहरूले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि प्रयास संविधान, मानव अधिकार र लैंगिक समानताको हिसाबले उल्लंघन हो भन्दै सरकारको चर्को विरोध गरिएको छ । विरोध कार्यक्रमको आयोजना महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार सञ्जाल र गैर–सरकारी संस्था महासंघ, मोरङले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए, जसमा लेखिएको थियो–हामी एकता, महिला अधिकारका लागि, संविधान मिच्न पाइँदैन, बहुविवाहलाई हैन, समान अधिकारलाई समर्थन गरौं । कार्याक्रममा उपस्थित ईन्सेक कोशीका प्रमुख मनोहर पोखरेलले भने यो मस्यौदाले महिलाहरुलाई मनोरन्जनको सामाग्रीको रुपमा प्रस्तुत गरेको देखियो । त्यसैले यस्तो कानुन ल्याउन हुँदैन ।

यसैगरी कोशी प्रदेश ओरेक नेपालकी संयोजक शोभा बजगाँईले अहिले कानुन नआउदै पनि यस्ता विषयमा महिलाहरु पिडित भईरहेको बताउँदै कानुन नै ल्याएपछि त्यसले महिला हिंसा अझै बढोत्तरी हुने बताइन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले भने नेपालको संविधानले समानता, लैंगिक न्याय र मानव अधिकारको सुनिश्चितता हुनुपर्ने बताएका थिए ।