विराटनगर । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा अवलोकनका लागि छिमेकी मुलुक भारतका तीन राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको छ ।
राधाकृष्ण रथयात्रालाई प्रदेश सरकारले महत्वपूर्ण उत्सवको रुपमा राखेर सार्वजानिक विदा दिदैं आएको छ । यस पटक कोशी पर्यटन वर्ष समेतलाई लक्षित गर्दै भारतको सिक्किम, बिहार र पश्चिम बंगालका मुख्यमन्त्रीलाई निमन्त्रणा पठाइएको हो ।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले प्रदेश सरकारले निर्णय गरेर संघीय सरकारसँग अनुरोध गरिएको जानकारी दिएका छन् । छिमेकी राष्ट्र भारतको सिक्किमका प्रेमसिंह तामाङ गोले, बिहारका नितिशकुमार र पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलाई निमन्त्रणा गरिदिन संघीय सरकारसँग अनुरोध गरिएको हो ।
प्रदेश सरकारले सिधै निमन्त्रणा गर्ने प्रोटोकल छैन । त्यहि भएर संघीय सरकार पराराष्ट्र मन्त्रालयमार्फत तीन राज्यका मुख्यमन्त्रीलाई निमन्त्रणा पठाइएको हो । नेपालमा धार्मिक भ्रमण गर्न चाहेको इच्छा सिक्किमका मुख्यमन्त्री गोलेले यस अगाडी गर्दै आएका थिए । उनलाई सरकारकै तहबाट नियमन्त्रणा पठाएर राधाकृष्ण रथयात्राको अवसरमा ल्याउँदा त्यसको सकारात्मक प्रभाव पर्नसक्ने बुझाई सरकारको छ ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने काम सरकार मातहत भएको बताएका छन् ।
प्रदेश सरकारले भारतका तीन राज्यका मुख्यमन्त्रीहरु आउने अवस्था भए त्यसको सुरक्षा तयारी समेत थालेको छ । गत आइतबार झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले राधाकृष्णा रथयात्राको सुरक्षा प्रवन्धको विषयमा ब्रिफिङ लिएका थिए ।