विराटनगर । तेरापन्थ युवक परिषदले विश्वका ७५ देशमा एकसाथ गर्ने रक्तदान कार्यक्रम अन्तर्गत विराटनगरमा समेत तयारी तिव्र पारिएको छ । एकसाथ विश्वका ७५ देशमा हुने भएकोले यसलाई ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’ भनिन्छ । तेरापन्थ युवक परिषद विराटनगरले यही असोज १ गते ‘हाम्रो रक्त, हाम्रो लागि’ भन्ने मूल नाराका साथ रक्तदान गर्नेछ ।
विश्वभरका ७५ वटा देशमा एकैपटक असोज १ गते विशाल रक्तदान कार्यक्रम हुदैछ । विराटनगरको जैनभवनमा हुन गरिहरको कार्यक्रमको लागि परिषदका पदाधिकारीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीलाई भेट गरी सहयोगको अपिल गरेका छन् । कार्यक्रममा परिषदका संयोजक अमित धाडेवा लगायतको टिमले मुख्यमन्त्री कार्कीलाई औपचारिक पत्र बुझाएका छन् ।

तेरापन्थ युवक परिषदका अनुसार, नेपालभर मात्र नभएर विश्वका ७५ वटै देशमा रक्तदान प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव हुन गहिरेको छ । विराटनगरमा हुन लागेको कार्यक्रममा हजारौँ रक्तदाताको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था, स्थानीय निकाय तथा स्वास्थ्य क्षेत्रका निकायहरूसँग समेत समन्वय भइरहेको संयोजक धाडेवाले जानकारी दिए ।

मुख्यमन्त्री हिकमत कुमार कार्कीले ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव २०८२’ लाई शुभकामना दिदै आफ्नो तर्फबाट पूर्ण समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले युवाहरुको सक्रियता, समाजप्रति उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्रशंसनीय बताउँदै यस्तो महाअभियानले समाजमा सकारात्मक सन्देश दिनेसमेत धारणा राख्नुभयो । मन्त्री काकीले यस्तो कार्यक्रममा स्वास्थ्य सम्बन्धी सचेतना बढाउने र आपत्कालीन अवस्थामा रगत अभावको समस्यालाई कम गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।