विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा १२ घण्टा नबित्दै झापाबाट पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा शनिबार बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । तर, फरार भएको करिब १२ घण्टाभित्र उनलाई प्रहरीले फेला पारेर नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि शुक्रबार राति ११ः३० बजेतिर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको झ्यालबाट शनिबार बिहान ३ः१५ बजे हाम फालेर उनी फरार भएका थिए ।
फरार भएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली परिचालन गरिएको थियो । एसपी चिमरियाले लिम्बू भागेर भारततिर प्रवेश गर्न खोज्दै गर्दा दिउँसो २ः३० बजे झापाको झापा गाउँपालिका–५ मेचे टोलबाट पक्राउ गरिएको बताए । साउन २१ गते पक्राउ परेका लिम्बूलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको थियो ।