विराटनगर । विराटनगरको तीनपैनीदेखि रोडशेषसम्म सडक क्रस गरेर टाँगिएका केवल (तार) भूमिगत गरिएको छ । उत्तरमा तीनपैनीदेखि दक्षिण रोडशेषसम्म बजार लाइनको सडकमा पोलबाट पूर्व–पश्चिम तानिएका फाइबर केवललाई भूमिगत गरिएको हो ।
नेपाल टेलिकम र एनसेलको फाइबर व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले निर्देशन दिएको थियो । आगामी भदौ १ गते विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रालाई लक्षित गर्दै पोलमा रहेका अनावश्यक तार तथा पूर्वपश्चिम क्रसिङ्ग फाइबरहरु व्यवस्थापन गरिएको हो ।
माधव निर्माण सेवाले यो मेनरोडका सात स्थानको फाइबर भूमिगत गर्ने काम गरिरहेको छ । हालसम्म चार स्थानको फाइबर सडक खनेर भित्रबाट पासिङ्ग गरिसकिएको छ । अब तीन स्थानको फाइबर व्यवस्थापन गर्न बाँकी रहेको छ ।
कोशी राजमार्ग विस्तारकै क्रममा यस्तो फाइबर भूमिगत रुपमा क्रसिङ गर्ने पोइन्टहरु तयार पारिएकोले त्यो समस्या छैन । महानगरपालिकाले यस अगाडी विभिन्न केवल टिभीहरुलाई समेत सडक क्रसिङ गरिएका तारहरु व्यवस्थापन गर्न निर्देशन दिइएको छ । अहिले नेपाल टेलिकम र एनसेलका फाइबरहरुको क्रसिङ्ग व्यवस्थापन गरिएको हो ।