विराटनगर । विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीमा राधाकृष्ण रथयात्रा निकालिएको ९५ वर्ष पुग्यो । दक्षिण एशियामा जगनाथपुरीपछि धेरै श्रद्धालु सहभागि हुने राधाकृष्ण रथयात्रा निकालिने परम्परा स्थापीत भईसकेको छ । यति महत्वपूर्ण धार्मिक उत्सव छलेर विराटनगर–३ स्थित मानगढको कृष्ण मन्दिरबाट समेत अर्को रथयात्रा निकाल्न थालिएपछि यसको आलोचना सुरु भएको छ । मानगढ ३ स्थित कृष्ण मन्दिरबाट निकालिने रथयात्राको पनि ३१ औं संस्करण भनेर प्रचारमा ल्याइएको छ । यद्यपी यसको संस्करण विषय पनि विवादित नै मानिएको छ ।
अझै यतिसम्मकी गतवर्ष कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले दशलाख रुपैँया बजेट रथ निर्माणका लागि बिनियोजन भइ खर्च समेत गरिएको छ । त्यो रकम मन्त्रालयबाट रथ निर्माणका लागि लगिएको हो । विराटनगरमा भव्य रुपमा निकालिने रथयात्रा हुँदाहुँदै अर्को रथयात्राको तयारी गरिनुलाई धेरैले नकारात्मक ढंगले हेरेका छन् । राधाकृष्ण रथयात्रा निकालिने भाद्र कृष्ण नवमीकै दिन बिहान मानगढबाट उत्तरी विराटनगरलाई फन्को मारेर यो रथयात्रा निकाल्ने प्रचारप्रसार भईरहेको छ । यसको प्रचारप्रसार संयोजक अबिजाल विष्टले मन्त्रालयको रकम ल्याएर रथ निर्माण गरिएको जानकारी पाएको बताएका छन् । विष्टले रथयात्रा निकाल्नका लागि सामाजिक सञ्जाल फेसबुकमा राखेको सूचनामा भने धेरैले आलोचना गरेका छन् ।
विराटनगर १ तीनपैनी पानीट्याङकीमा रहेको राधाकृष्ण मन्दिर परिसरमा नयाँ रथ निर्माण गरिएको छ । यो रथ निर्माणका लागि विराटनगर महानगरपालिकाले ४४ लाख बजेट दिएको हो । बजेट प्राप्त भएपछि गत बैशाखदेखि रथ निर्माणको काम सुरु भएको थियो । यसको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारले विराटनगरको यो रथयात्राको महत्व बुझेर सार्वजानिक विदा दिन थालेको छ । तर, त्यहि प्रदेश सरकारको लगानीमा विरानगर ३ मा राधाकृष्ण रथयात्रा बनाउन भन्दै रकम उपलब्ध गराइएको छ । कतिपयले एउटै शहरमा उस्तै प्रकारको रथयात्रा निकाल्नुले मुख्य र महत्वपूर्ण धार्मिक कार्यक्रमलाई प्रभावित बनाउने मनसाय राखेको भनेर आलोचना गरेका छन् । विष्टका अनुसार राधाकृष्ण रथयात्रा निर्माणका लागि दिइएको बजेट सदुपयोग गरिएको छ । उनका अनुसार यो मन्दिरको मुख्य व्यक्ति पिठाधीश रुद्रशरण महाराज रहेका छन् ।
रथयात्रा निकाल्नु र धार्मिक आस्था जगाउनु हितकर नै हुने भएपनि यससँग जोडिएका बहुआयमिक विषय हुन्छन् । सुरक्षाका हिसाबले पनि मुख्य राधाकृष्ण रथयात्रा निकाल्ने दिन नै अर्को रथयात्रामा व्यवस्थापन मिलाउन असहज हुने गरेको छ । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरिया जहाँ–जहाँ रथयात्रा निकालिएपनि प्रहरीको काम सुरक्षा दिने भएको बताउँछन् । उनले मुख्य रुपमा विराटनगरको राधाकृष्ण रथयात्राको सुरक्षा प्रवन्ध मिलाउन विशेष सुरक्षा योजना तयार पारेर कार्यन्वयन गर्नुपर्ने भूमिकामा प्रहरी प्रशासन रहने बताए । एउटै समय नपर्दा र भ्यासम्मको हिसाबले एउटै शहरमा उहि प्रकारको रथयात्राको सुरक्षा समन्वय गर्नुपर्ने अवस्था रहेको एसपी चिमरियाले बताए ।
यस पटकको रथयात्रालाई कोशी पर्यटन वर्षसँग जोडेर अझै भव्य बनाउनका लागि प्रदेश सरकारले छिमेकी राष्ट्र भारतका तीन राज्यका मुख्यमन्त्रीलाई निमन्त्रणा पठाईदिन संघीय सरकार पराराष्ट्र मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेर निमन्त्रणा पठाइएको छ । यद्यपी विशिष्ट पाहुनाहरु आउने नआउने अहिलेसम्म यकिन भएको छैन । यदि भारतका कुनैपनि राज्यका एकजना मुख्यमन्त्री आउने अवस्था सिर्जना भए प्रहरीलाई सुरक्षा प्रवन्ध मिलाउन अघिल्लो दिनदेखि नै भ्याइनभ्याई हुनसक्छ । यस्तोमा एउटै शहरमा उस्तै प्रकारको रथयात्राले थप हैरानी थप्नसक्ने सुरक्षा संयन्त्रलाई चिन्ता बढाउँछ ।
अर्कोतर्फ यसको व्यवस्थापनका नाममा हुने खर्च समेत उतिकै बढ्छ । एकको सिको गर्दै अर्को रथयात्रा निकाल्ने कुराले महत्वपूर्ण मानिएको धार्मिक कार्यक्रमलाई खण्डित गर्ने र अहिले भन्दै गरेको दक्षिण एशियाको दोस्रो दावी सकिने स्थितिमा पुग्ने देखिन्छ ।
यसैगरी विराटनगरमै नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) पनि कृष्णजन्माष्टमी कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । श्रावण ३१ गते जैन भवन विराटनगरमा बिहान देखि मध्यरातसम्म धार्मिक र सांस्कृतिक कार्यक्रमको श्रृंखला आयोजना गर्ने जनाइएको छ ।