इन्दु कुमारी साह
विराटनगर । हालै भारतको दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । जसमा कोशी प्रदेशका ८ जना महिला पनि परेका छन् । शनिबार काठमाडौं आइपुगेका ती महिलामध्ये मोरङका ३, सुनसरीका ३, उदयपुरका १ र ताप्लेजुङका १ जना रहेका छन्।
सप्तरी, पर्सा, रुपन्देही, सिन्धुलीसहित २३ जिल्लाका महिलालाई भारतबाट उद्दार कार्य गरिएका छन् । सामाजिक संस्था किन ईन्डियाका संस्थापकका अनुसार उनीहरुलाई कुवेत, दुबई र साउदी अरबमा घरेलु कामदारको रूपमा पठाउने उद्देश्यले नेपालकै एजेन्टहरूले भारतसम्म पुर्याएका थिए। दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरुलाई दिल्लीबाट उद्धार गरी सुनौली नाकामार्ग हुँदै नेपाल ल्याइएको हो। ‘किन इन्डिया’का संस्थापक नवीन जोशीका अनुसार धेरैजना महिलालाई कुवेत पठाउने योजना थियो। दलालहरूले खाडी मुलुकमा कामको प्रलोभन देखाई भारतमार्ग हुँदै तेस्रो मुलुक लैजान खोजेका थिए। प्रारम्भिक अनुसन्धानमा एक महिला पठाएबापत एजेन्टले ५ देखि ७ लाख रुपैयाँसम्म पाउने गरेको खुलेको छ । महिलाबाट भने प्रत्यक्ष रकम लिइएको छैन।
उद्धार गरिएका २२ देखि ४० वर्ष उमेर समूहका महिलाहरु रहेका छन् । ती महिलाहरुलाई हाल महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र मानव बेचबिखन अनुसन्धान शाखाको रोहबरमा सुरक्षित आवास गृहमा राखी परामर्श तथा अनुसन्धान भइरहेको छ । जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारका रूपमा गएकी धेरै नेपाली महिला शारीरिक तथा मानसिक हिंसामा पर्ने, अलपत्र हुने तथा उद्धारको अवस्था आउने क्रम बढेको छ। यसैले यसप्रकारको गतिविधिमाथि निगरानी बढाइएको र एजेन्टहरूको खोजी कार्य चलिरहेको उनले बताए ।