इन्दु कुमारी साह
विराटनगर । कोशी प्रदेशमा सिटिईभीटीबाट सम्बन्धन प्राप्त विद्यालयहरूको ३ वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रमको नतिजामा न्यून विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । गत बिहीबार सार्वजानिक नतिजामा ५ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएपछि विद्यालय र विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।
विराटनगरका महानगर बहुप्राविधिक, आदर्श माध्यमिक विद्यालय, राधाकृष्ण माध्यमिक विद्यालयसहित विभिन्न विद्यालयमा अध्यापन हुँदै आएको छ । कोशी प्रदेशभरीका गरी पाचौं सेमेस्टरमा जम्मा ६८० विद्यार्थीमध्ये जम्मा ३० जनामात्र उत्तिर्ण भएका छन् । विराटनगरका तर्फबाट त केवल एक–दुई जनामात्र पास भएका छन् ।
कोशी प्रदेश सिटिईभीटी कार्यालयका निर्देशक उमेश प्रसाद खरेलका अनुसार प्रदेशको इतिहासमै यो पहिलो पटक यति कम नतिजा आएको हो । उनका अनुसार करिब ९५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । विभिन्न जिल्लाबाट उत्तरपुस्तिका पुनः जाँचको माग र गुनासो आएका छन् । ती सबै माग केन्द्रमा पठाइसकेको खरेलले बताए।
हालसम्म सिटिईभीटीले उत्तरपुस्तिका पुनःजाँच गरेको कुनै आधिकारिक रेकर्ड नभए पनि आवश्यक परे छानबिन समिति गठन गर्न सकिने उनले बताएका छन्। उनका अनुसार कतै कैफियत भएको हुनसक्ने आशंका पनि गरिएको छ। विगतमा उत्कृष्ट नतिजा ल्याउँदै आएका विद्यार्थीहरू समेत यसपटक अनुत्तिर्ण भएपछि विद्यालयका प्राध्यापकहरू पनि आश्चर्यचकित भएका छन्।
महानगर बहुप्राविधिक क्याम्पसका प्रमुख प्रवेश पराजुलीका अनुसार विगतदेखि राम्रो नतिजा ल्याउने विद्यार्थीहरू समेत यसपटक फेल हुनु अस्वाभाविक छ। विद्यार्थीहरूले आफूहरू फेल नहुनुपर्ने दाबी गर्दै आवर विराटनगरको कार्यालयलाई जानकारी दिएका छन् । साथै नतिजा नसच्याईए आन्दोलनमा उत्रने चेतावनी उनीहरुको रहेको छ । परीक्षामा कोशी प्रदेशबाट ६३९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ६०९ जना अनुत्तिर्ण भएका छन् । उत्तिर्ण प्रतिशत भने ४ दशमलव ६९ प्रतिशत मात्रै हो ।