इन्दु कुमारी साह
विराटनगर । कोशी प्रदेशको ऐतिहासिक एवं सांस्कृतिक शहर विराटनगर आगामी भाद्र १ गते भव्य रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यस दिन हजारौं भक्तजन श्रद्धा, भक्ति र उमङ्गका साथ शहरको विभिन्न मार्ग हुँदै यात्रामा सहभागी हुनेछन् । यस अवसरमा धार्मिक आस्थासँगै मानव सेवाको भावनाले पनि उत्तिकै स्थान पाएको छ ।
रथयात्राको दिन भक्तजनलाई पिउने पानीदेखि लिएर सर्वत, खाजा, खाना, मिठाई र प्रसादसम्म वितरण गर्न स्थानीय व्यक्ति र संस्थाहरू अग्रसर भएका छन् । विराटनगर महानगरपालिकाको सरसफाइ शाखाले यस कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष व्यवस्था गरेको छ । शाखाले रथयात्राको दिन खाद्य तथा पेयपदार्थ वितरण गर्न इच्छुक सबैलाई अनुमति लिनुपर्ने सूचना जारी गरेको थियो । जसको अन्तिम मिति श्रावण ३१ गते तोकिएको छ ।
बुधबारसम्म १९ वटा संस्थाले औपचारिक रूपमा अनुमति लिइसकेका छन्। उनीहरूले वितरण गर्ने सामग्री, स्थान र समयसमेत यकिन गरी महानगरले स्वीकृति प्रदान गरेको छ । सरसफाइ शाखा प्रमुख पुनम दाहालका अनुसार यो कार्यमा हिन्दु मात्र नभई मुस्लिम, बौद्ध र अन्य धर्मका श्रद्धालुहरू पनि सहभागी भइरहेका छन् ।
गत वर्षको रथयात्रामा १०० भन्दा बढी संस्थाले सेवा गरेका थिए । जसमा मुस्लिम समुदायका युवादेखि महिलासम्म उत्साहपूर्वक सक्रिय थिए । यस वर्ष पनि त्यसैको निरन्तरता रहँदैछ। स्थानीय बासिन्दाले यसलाई केवल धार्मिक कार्यक्रम मात्र नभई, समाजलाई एकसाथ जोड्ने, पारस्परिक प्रेम र सहयोगको सन्देश दिने अवसरका रूपमा लिएका छन्।