विराटनगर । विराटनगर ३ मा रहेको बालसुधार केन्द्रमा आज दिउँसो भएको झडपपछिको तनावग्रस्त स्थितिलाई मोरङ प्रशाासनले नियन्त्रणमा लिएको छ ।
सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा केही बेर त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । एक्कासी झडप भएर अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङले ठुलो सख्यामा शसस्त्र प्रहरी सहित जनपथ प्रहरी परिचालन गरेको थियो ।

हाल सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएको छ । सुधारगृहमा बुधबार दिउँसो १२ः४५ बजेतिर झडप भएपछि केही सयौको सख्यामा बाल बिज्याइँकर्ता गेट तोडफेड गर्दै बाहिरीएका थिए । बाल बिज्याइँकर्ता बालकहरुबीच भएको झडप छुट्याउने क्रममा नेपाल प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) र वरिष्ठ हवलल्दार घाइते भएका छन् । सम्झाइबुझाइ गर्ने क्रममा झडपमा उत्रिएका बाल बिज्याइँकर्ताहरुले प्रहरीलाई नै आक्रमण गरेका थिए । आक्रमणबाट सुधारगृहको सुरक्षार्थ खटिएका असई शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएका थिए ।
असई चौधरीलाई सामान्य चोट लागेको छ । टाउकोमा चोट लागेका वरिष्ठ हवल्दार मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारीदिनुभयो । तर, अवस्था सामान्य छ । सुधारगृहमा परिचालित प्रहरीले सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको एसपी चिमरियाले बताउनुभयो ।

बाहिर निस्किएर भाग्न खोजेकाहरुलाई सुधारगृहमा खटिएको प्रहरी टोलीले घेरा हालेर सुधारगृहभित्रै पुर्याएको थियो । बेलैमा अपनाएको सुरक्षा सावधानीका कारण बाल बिज्याइँकर्ताहरु भाग्न भने नपाएको र सुधारगृहको अवस्था सामान्य भईसकेको मोरङ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । घटनापस्चात स्वयम प्रमुख जिल्ला अधिकारी घटना स्थल पुगेका थिए ।

बाल बिज्याइँकर्ताहरु सुधारगृहबाट निस्किएर हो हल्ला गर्न थालेपछि स्थानियवासी समेत त्रसित भएका थिए । सुधारगृहको क्षमता ५० जनाको रहेको छ तर हाल २ सय ४९ जना बाल बिज्याइँकर्तालाई राखिएको छ । यस अघि पनि उक्त स्थानमा बाल बिज्याइँकर्ताबीच बेला—बेला विवाद र झडप हुदै आएको छ ।