विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि बाइपास रुट सार्वजानिक गरेको हो ।
जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश पाउने छैनन् । त्यसपछि कोशी राजमार्गलाई ४ बजेपछि क्लियर गर्दै लगिनेछ । तर, यात्रुबस तथा साना सवारीको हकमा भने ६ बजेसम्म राजमार्ग क्षेत्रमा निषेध गरिने छैन । मालवहाक ट्रकलाई भने होल्ड गरिने जानकारी दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार नाकाबाट आउने मालवहाक ट्रकलाई जतुवा नहरभन्दा दक्षिण रोडमा होल्ड गरिने छ । चार पाङ्ग्रे साना तथा मोटरसाइकलको हकमा जतुवा नहर पश्चिम बाइपास गरिने छ । यो नहर पश्चिम बाइपास हुँदा सवारीहरु कन्चनबारी निस्कने छन् । यसैगरी कन्चनबारीबाट ठूलो मिल–भट्टी मोड–हाटखोला बाइपास गरिएको छ । रंगेलीबाट आउने मालवहाक तथा यात्रु बहाक बसका हकमा कटहरीमै होल्ड गरिने छ । रंगेलीबाट आउने साना सवारीका हकमा भने देवकोटाचौकबाट उत्तर अदालत, शहीद रंगशालाको बाहिरी परिसर कभर बनाउन सक्नेछन् । दक्षिणतर्फ देवकोटा चौक दक्षिण जान सक्नेछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजमार्ग क्षेत्र पुरै ठप्प हुने समय साँझ ६ बजेदेखि ८ बजेसम्मको समयलाई तोकेको छ । रथलाई ट्राफिक चौक ल्याएर रोडशेषचौकतर्फ बढाउन थालेपछि मात्रै राजमार्गमा सवारी होल्ड गरिनेछ । राजमार्गलाई दिउँसैदेखि अवरोध गर्दा सवारीहरु बाइपासमा फस्ने र यात्रु गन्तव्यमा नपुग्ने संभावनालाई आंकलन गरिएको छ ।
यात्रु वहाक बसका लागि साँझ ६ बजेपछि कन्चनबारी पश्चिम नहरबाट दक्षिण हुँदै पिचरा बसपार्कमा निकालिल्ने रुट दिइएको छ । साना सवारीका हकमा बरगाछी र राधारमण मन्दिर पश्चिम लागेर दक्षिण बसपार्क, घाँसचौक मोती भवन पश्चिम रुट तयार गरिएको छ ।अर्को रुट मुख्यमन्त्री कार्यालय दक्षिण पूर्वतर्फ सोमबारे हाट हुँदै बजार तथा हाटखोलातर्फका लागि तोकिएको छ ।