विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल २५ बर्ष पुगेको उपलक्ष्ममा विविध साप्ताव्यापी कार्यक्रम गरी मनाईरहेको छ । रजत जयन्ती कै अवसरमा हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी २५ बर्षको दौरानमा २५ लाख भन्दा बढी बिरामीको उपचार गरेको दावी गरेको छ ।
यसैविच यही भदौ ८ गते विराटनगरको विरेन्द्रसभा गृहमा एक भव्य समारोह विच आफ्नो रजत जयन्ती मनाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथित्वमा कार्यक्रम मनाउन लागेको अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले जनकारी दिए ।

यस अघि अस्पतालले रक्तदान, मैत्रीपुर्ण फुटसल, मानवसेवा आश्रममा भोजन लगायतका कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले २५ वर्षयता नेपाल मात्र नभई भारतका सिमावर्ती क्षेत्रका बिरामीहरुको पनि पहिलो रोजाइ बन्न सफल भएको अस्पतालका सस्थापक अध्यक्ष विरेन्द्र कुमार विष्टले जानकारी दिए ।
उनका अनुसार, बि.स २०५७ भदौ ८ गते न्युरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर को रुपमा सुरुवात भएको थियो । पछिल्लो दुई दशकमा यसले सीटी–स्क्यान, एम.आर.आई, न्युरो सर्जरी, मुटु रोग, स्त्रीरोग र प्रसुती, हाडजोर्नी नाक–कान–घाँटी, मानसिक स्वास्थ्य सहितका सेवा विस्तार गर्दै आएको छ ।
यस अवधिमा ७ हजार ५ सय भन्दा बढी न्युरो सर्जरी, ५ हजार भन्दा बढी मुटु सम्बन्धी प्रक्रिया र ६ हजार भन्दा बढी हाडजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।

२५ बर्ष पुगेको अबसरमा भदौ ८ देखि १४ सम्म २५ वटा परीक्षणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यससँगै तुलसा देवी फाउण्डेशन स्थापना गरी हरेक वर्ष एक जना उत्कृष्ट नर्स र एक जना उत्कृष्ट मेडिकल अफिसरलाई ५१ हजार सहित सम्मान गर्ने जनाएको छ । अस्पताल परिसरमा ब्लड बैंक, वृक्षारोपण, सरसफाइ, सिसि क्यामेरा र बत्ती जडान गर्ने, साथै कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत रहेको अस्पतालले जनाएको छ । हाल १५० शैयामा सञ्चालन भइरहेको अस्पताललाई निकट भविष्यमा २५० शैयामा विस्तार गर्ने तयारी छ । साथै पाँच वर्षभित्र कोशी र मधेश प्रदेशका तीन स्थानमा चैन अफ हस्पिटल स्थापना गरी सुपरस्पेसियालिटी सेवा विस्तार गर्ने योजना समेत रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
