दक्षिण अष्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपालले हार बेहोरेको छ । बिहीबार सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १४७ रनको लक्ष्य दक्षिण अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अष्ट्रेलियाका लागि एनपी विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । उनले १९ बलमा ३६ रन जोडेका थिए । यस्तै, हुगेनबोजेमले २८ रन तथा एमडब्ल्यू हार्भेले २७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै, नन्दन यादव र रोहित पौडेलले समान २/२ विकेट हात पारे।
यसअघि, ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा ३२ रन जोडेका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले १९ बलमा २६ रन र आसिफ शेखले १३ बलमा २२ रन बनाए ।
दक्षिण अष्ट्रेलियाका लागि थम्पसनले २१ रन खर्चेर २ विकेट लिए । यस्तै, टी ब्राउन र एच मनन्तीले समान २/२ विकेट लिए ।