विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् ।
यसैगरी ढुवानी गर्ने सवारीलाई सहज नहुँदा नेपाल आयल निगम इन्धन उठाएर लैजान समेत सकिरहेको छैन । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार इन्धन प्रशस्त छ । यसको अभाव हुने अवस्था छैन । तर, कारोबारका लागि बैंकहरु सञ्चालनमा छैन भने ढुवानीका ट्याङकर आवतजावतमा सहज छैन ।
आयल निगमले आज साँझ इटहरीसम्म इन्धन पठाउने तयारी गरेको थियो । तर, इटहरीबाट ढुवानीका सवारी आउन नसकेको सुचना प्राप्त भएको कार्कीले जानकारी दिए । उनले अब क्रमशः सहजीकरण लैजाने तयारी भइरहेको बताएका छन् । बैंकीङ कारोबार सञ्चालनमा आएर सवारी आवातजावत सहज हुनसाथ पम्पहरुमा प्रशस्त इन्धन उपलब्ध हुने उनको भनाई थियो ।
पम्प व्यवसायी पारस पारखले सुरक्षाको प्रवन्ध मिलाएर बजार खोल्ने सहजीकरण गरिदिन कसलाई भन्ने समेत नभएको बताए । उनले सबै कारोबार क्रमशः खुल्दै गएपछि इन्धन उपलब्ध गराउन समेत सहज हुने बताए ।