शून्यतामा सुनसरी–मोरङ औद्योगिक क्षेत्र

<span class='c1'>शून्यतामा सुनसरी–मोरङ</span> <span class='c2'>औद्योगिक क्षेत्र</span>

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा तीनदिनयता शून्यता छाएको छ । उद्योगमा उत्पादन छैन, भएको उत्पादन बजारमा पठाउने अवस्था छैन । उद्योगको सुरक्षाका लागि भएपनि केहि मजदुरलाई सञ्चालकले आउन आग्रह गरिरहेका छन् । मजदुरले आफ्नो रोजीरोटी दिने उद्योगको संरक्षणका लागि उद्योगीको भनाई मानिरहेका छन् ।

उद्योगका सञ्चालक यो परिस्थितिका बारेमा केहि बोल्न नसक्ने अवस्थामा रहेको प्रतिक्रिया दिन्छन् । चाडपर्व नजिकँदै गर्दा बजार चलायमान हुने समय नजिक छ । तर, उद्योगका उत्पादन बन्द गरेर बस्नु परेको छ । गत भदौ २३ गतेदेखि जेन–जेड पुस्ताले आन्दोलन सुरु गरेका थिए । त्यसदिनसम्म उद्योग सञ्चालनमा रहेका थिए ।
संविधानसभा सदस्य तथा नेपाल उद्योग परिसंघका अध्यक्ष पवन शारडाका अनुसार एउटा पुस्ताले देशमा सुशासनको माग गर्दै गरेको आन्दोलनलाई काँग्रेस–एमाले सरकारले ट्याकल गर्ननसक्दा देशको समग्र प्रणाली ध्वस्त भएको हो । विद्यार्थीले गरेको आन्दोलनले २४ भदौमा लिइएको ध्वंसात्मक रुप देशका लागि प्रत्युत्पादक बनेको हो ।

सुनसरी–मोरङ औद्योगिक करिडोरको सुरक्षा मजदुर आफैंले गरेका कारण क्षति नभएपनि त्यसपछिका दिन पीडादायी बनिरहेको छ । उद्योग उत्पादनविहीन छ, बजार शून्यतामा र आयात–निर्यात अन्यौलको अवस्था अनि उद्योगी अभिभावकविहीन भएको गुनासो गर्दछन् । ‘कहाँ जाने, कसलाई भन्ने ? स्थितिमा छौं’ उद्योगी शारडाले भने–हामी चिन्तामा छौं, देश चित्तामा ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको मत पनि शारडा भन्दा फरक छैन । उद्योग बन्द गरेर घरमै बस्नुपर्ने र उत्पादनमा जुट्ने कामदार तथा मजदुर बेरोजगार हुनुपर्ने अवस्था देशले फेरी बेहोर्नु परेको उनी बताउँछन् । करिडोरका ५०० उद्योगका प्लान्ट बन्द छन्, बजारका गतिविधि शून्य बनेर जमिरहेको देख्नुपर्दा विरत्त लागिरहेको अध्यक्ष राठी सुनाउँछन् । देशले चाँडै निकास पाउनुपर्ने बताउँदै राठीले कुनैपनि हालतमा लोकतन्त्रको सुरक्षा गर्न जरुरी रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले फोन समेत उठाएर कुनै प्रतिक्रिया दिन मन नलाग्ने अवस्था देखिरहेको बताएका छन् । केहि बोलेर प्रतिक्रिया दिदाँ त्यसको सुनुवाई गर्ने अभिभावक नभएको उनको बुझाई छ ।
उद्योगीमा भयको वातावरण नहट्दा व्यवसायीले समेत कारोबार गर्ने अवस्था छैन । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरमा भएको इन्धन पेट्रोलपम्पसम्म पु¥याउने ढुवानीका साधन गुडेका छैनन् । अर्को कुरा नेतृत्वविहीन आन्दोलन भएका कारण अति प्रज्ज्वलनशील वस्तुको व्यापार गर्दा कुनैपनि बेला ठूलो जोखिम मोल्नुपर्ने बाध्यता सहनुपर्ने भयको सामाजिक मनोविज्ञान सर्वथा छाएको छ ।

उद्योगी–व्यवसायी र सर्वसाधारण नागरिकले बुधबारदेखि केहि शान्त महसुश गर्न थालेको बताउँछन् । यद्यपी ढुक्कले हिड्न सक्ने अवस्था अझै नभएको उनीहरुको गुनासो छ । जलेर खण्डहर बनेका सरकारी संरचना देखिन्छ भन्ने मनोविज्ञानले धेरैलाई बाहिर निस्कन मन नभएको सुनाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्