विराटनगर । आंशिक क्षति भएको विराटनगर भन्सार कार्यालयले अत्यावश्यक सेवा अन्तर्गत पर्ने मालवस्तुको जाँचपास शुक्रबारबाट सुरु गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार बुधबारपछि रोकिएको सेवा शुक्रबार एलपी ग्यास जाँचपास गरेर सुचारु गरिएको हो ।
भन्सार कार्यालयमा आन्दोलनबाट पुगेको क्षतिको मूल्यांकन गर्दै हामीले सेवा समेत सुरु गरेका हौं, उहाँले भन्नुभयो । यसैगरी कोशी प्रदेशको मेची भन्सार कार्यालय काकटभिट्टा पूर्ण रुपमा क्षति भएकोले अहिले नै काम कसरी सुरु गर्ने भन्ने यकिन भईसकेको छैन । मेची भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी इश्वरकुमार हुमागाँईका अनुसार काम सुरु गर्ने वातावरणको प्रतिक्षामा कुरिरहेको अवस्थामा छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगर भने केन्द्रीय सर्भरसँग बिच्छेद रहेका कारण काम सुरु भएको छैन । कार्यालयका प्रमुख केवशकुमार उप्रेतीले केन्द्रीय सर्भरसँग जोडिएपछि जेनतेन तरिकाले काम सुरु गरिनेछ । तर, कार्यालय पूर्ण रुपमा क्षति भएका कारण यसलाई ब्यूँताउन समय भने अझै लाग्छ । आन्तरिक राजस्व विभागका अनुसार कोशीमा दमकल इटहरी, विराटनगर कार्यालयमा क्षति भएको छ । इलामको कार्यालयमा आंशिक क्षति भएको छ । भन्सारतर्फ कोशीका मेची, भद्रपुर पूर्ण रुपमा क्षति भएका छन् । विराटनगर आंशिक क्षति भएको छ ।