इन्दु कुमारी साह
विराटनगर । विराटनगरमा जेनजी आन्दोलनसँगै खलबलिएको अवस्था विस्तारै सामान्य बन्दै गएको छ। आन्दोलनकारीहरूले २४ गते विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गरेपछि महानगर क्षेत्रमा सुरक्षाको चुनौती देखिएको थियो।
त्यसै कारण केही दिनसम्म ट्राफिक तथा नेपाल प्रहरी ड्युटीमा निस्कन सकेका थिएनन् । तर शनिबारदेखि ट्राफिक प्रहरीले आफ्नो दैनिक कार्य सुरु गरेको जानकारी दिइएका छन् । आन्दोलनका कारण केही दिन बजार सुनसानजस्तै भए पनि अहिले सामान्य चहलपहल बढ्न थालेको छ।
ट्राफिक प्रहरीले नियमित ड्युटी सुरु गरेको छ। मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको छ। प्रदर्शनकारीहरूले कार्यालयमा रहेका सरकारी मोटरसाइकलमा आगजनी गरेका थिए। ट्राफिक प्रमुख राजन लम्सालका अनुसार ड्युटीमा खटिन प्रयोग हुने ४ वटा मोटरसाइकल जलेका कारण प्रहरीहरूलाई आवतजावतमा समस्या भएको छ। उनले भने अहिले साधनको अभाव छ। हामी कार्यालय सरसफाइ गर्दै ट्राफिक व्यवस्थापनमा फर्किरहेका छौँ।