इन्दु कुमारी साह
विराटनगर । सडकमा ट्राफिक प्रहरीहरूको उपस्थिति देखिन थालेको छ। तर उनीहरूले पहिलेजस्तो सहज रूपमा ड्युटी गर्न नसकिरहेको बताउने गरेका छन् । मोरङ ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालका अनुसार भौतिक संरचनामा व्यापक क्षति पुगेका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो।
विराटनगरका विभिन्न स्थानहरूमा जडान गरिएका ६ वटा ट्राफिक लाइटमध्ये एउटा पूर्ण रूपमा क्षति भएको छ । अन्यको अवस्था यकिन गर्न बाँकी रहेको लम्सालले जानकारी दिए। साथै ट्राफिक आइल्यान्ड, ट्राफिक पोस्ट लगायतका संरचनामा समेत क्षति पुगेको बताइएको छ।
ड्युटीमा त निस्किरहेका छौं तर स्रोत र साधनको अभावले गर्दा व्यवस्थापनमा समस्या भैरहेको छ लम्सालले भने। ट्राफिक लाइट फुट्नुका साथै अन्य उपकरणहरू पनि तहसनहस भएका छन् जसका कारण ट्राफिक व्यवस्थापनमा थप चुनौती देखिएको हो। यसरी आवश्यक भौतिक संरचना नहुँदा ट्राफिक प्रहरीले दैनिक काम सञ्चालन गर्न कठिनाइ खेप्नु परिरहेको छ।