विराटनगर । हालैको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूको सम्झनामा शनिबार साँझ विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघको आयोजनामा भएको उक्त कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो ।

नेपालमा भ्रष्टाचार र नातावादको अन्त्यको माग गर्दै जेनजी पुस्ताले गरेको देशव्यापी आन्दोलनले राजनीतिक उथलपुथल ल्याएको थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सुरु भएको यो शान्तिपूर्ण प्रदर्शनले पछि हिंसात्मक रूप लिँदा ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । सरकारले पछि उक्त आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गरेको थियो ।

यसै सन्दर्भमा मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघले राष्ट्रका लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण सहिदहरूको सम्मानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संघका सचिब सरोज खड्काले जानकारी दिए । कार्यक्रममा संघका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष दिपेश राज गौतम, जिल्ला कार्यसमितिका दाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो । मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको छ ।
