विराटनगर । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघीय खोलाको पुलमा भ्वाङ्ग परेको छ । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–७ र ८ वडा तथा कटहरी गाउँपालिका–१ र २ लाई जोडेको पुलमा भ्वाङ्ग परेको हो । विराटनगरमा उत्तरतफ विराटनगर ७ र दक्षिणतर्पm ८ नम्बर वडा र कटहरीको उत्तरतर्फ १ र दक्षिणतर्फ २ नम्बर वडालाई पुलको चारकुनाले जोडेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत मोरङको ४४ किलोमिटर सडक निर्माण तथा विस्तार अलमलमा छ । त्यहि आयोजना अन्तर्गत पर्ने सिंघीया खोलाको पुल जीर्ण भएर भत्कन थालेको हो । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले पुलमा भ्वाङ्ग परेर सवारी आवातजावत समस्या भएपछि मर्मत तयारी थालिएको जानकारी दिएका छन् । पोखरेलका अनुसार हुलाकी राजमार्गमा पर्ने भएपनि हालसम्म पुल निर्माणको ठेक्का व्यवस्थापनको प्रक्रिया थालिएको छैन । चालु आर्थिक वर्ष भित्रमा ठेक्का व्यवस्थापन प्रक्रिया थाल्ने लक्ष्य छ ।
पुलमा भ्वाङ्ग परेपछि मोरङको पूर्वी–दक्षिण क्षेत्रमा यातायात अवरोध हुनसक्ने चिन्ता बढेको छ । योजना कार्यालय इटहरीका प्रमुख पोखरेलले कटहरी औद्योगिक करिडोरमा मालवस्तु बोकेर आउजाउ गर्ने मालवहाक सवारीलाई असहज हुनसक्ने गुनासो आएको जानकारी दिएका छन् । ‘डाइभर्सन खोल्ने ठाउँपनि नहुँदा पुललाई तत्काल मर्मत गरेर काम चलाउनुपर्ने स्थितिमा रहेको उनले सुनाए ।
यस अगाडी पनि कटहरी औद्योगिक करिडोरका उद्योगीहरुले पुलमा समस्या भएको भन्दै बारम्बार गुनासो गर्दै आएका थिए । छवर्षदेखि जोखिमयुक्त पुल टालटुलमै चल्दै आएको छ । मोरङको पूर्वी–दक्षिण क्षेत्रका बजारलाई प्रदेश राजधानी र औद्योगिक एवं व्यवसायिक केन्द्र विराटनगर महानगरपालिका जोड्ने पुल वर्षेनी भ्वाङ्गपर्छ अनि टालेर काम चलाउने गरिएको छ । हाटखोलास्थित सिंघीया पुलदेखि कटहरी गाउँपालिकाको रामचोकसम्म ६ किलोमिटर हुलाकी सडकखण्ड अहिले पनि निर्माण तथा विस्तारको क्रममा भद्रगोल बनेको छ । वर्षातभरी हिलाम्य बनेको सडक घाम लागेपछि धुलाम्य हुने गरेको छ ।
आयोजना कार्यालय प्रमुख पोखरेलका अनुसार अब छैठ पछाडी सडकको काम थालिनेछ । तर, सडकको काम थाल्नु अगाडी बिद्युतका पोलको सार्ने व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । हाटखोला–नयाँबजारको छ किलोमिटरमा २०७६ सालदेखि श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रा.ली. जिम्मेवारीमा निर्माण हुँदै आएको हो । हालसम्म यसको काम २२ प्रतिशत भन्दा माथि पुग्न सकेको छैन । सडक निर्माण तथा विस्तारमा बिद्युतका पोल सार्नुपर्ने ठेक्का समेत प्याकेजमा रहेको थियो । तर, बिद्युतका अहिले भइरहेका पोल सार्ने नभएर नयाँ पोल लगाउनुपर्ने भएपछि ठेक्का व्यवस्थापन गरेको हुलाकी सडक निर्देशानालयले स्रोत जुटाउन नसकेको हो । आयोजना कार्यालय इटहरीका प्रमुख पोखरेलका अनुसार यो विषय अहिले उर्जा मन्त्रालयमा पुगेको छ । उर्जा मन्त्रालयले नै यसको समाधान खोजिदिदाँ मात्रै सडक विस्तारको बाटो खोलिनेछ । अहिले पूर्वाधार र उर्जा मन्त्रालयको विभागीय मन्त्री एकै व्यक्ति भएका कारण काम निस्कनेमा बढी विश्वास राखिएको छ ।