सोनु साह
विराटनगर । प्रहरीले सोमबार मोरङको रतुवामाई नगरपालिका ७ ठाकुरचौकबाट एकलाख ७५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । साइकलमा भारतबाट भित्र्याउँदै गर्दा प्रहरीलाई देखेपछि व्यक्ति फरार भएपछि पटका भने प्रहरी नियन्त्रणमा प¥यो । तिहार नजिकँदै जाँदा मोरङको खुल्ला सीमानाकाबाट विस्फोटक वस्तु (पटका) भित्र्याउने क्रम तिव्र बनेपछि प्रहरीले पनि यसको नियन्त्रणका लागि सक्रियता बढाएको मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चँुडालले जानकारी दिएकी छिन् ।
तिहार नजिकिएसँगै मोरङ जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने तस्करी तीव्र बनेको हो। हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार र उतिकै महत्व मानिने तराईको पर्व छैठलाई लक्षित गर्दै तस्करहरूले नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाई ठूलो मात्रामा पटका लुकाइछिपाई नेपाल भित्र्याउने कार्य बढाएका हुन्।
स्थानीयवासीका अनुसार जोगवनी, सिटियाई, बुधनगर लगायतका सीमा नाकाबाट दैनिक रूपमा पटका ल्याइने गरेको छ। प्रहरीले केही मात्रा बरामद गरे पनि ठूलो परिमाणमा पटका नेपाल भित्रिने गरेको छ । तस्करहरूले सुरक्षाकर्मीहरूसँग मिलेमतो गरी पटका तस्करीलाई सहज बनाएको आरोप पनि स्थानीयहरूले लगाएका छन्।
तर, प्रहरीले यसवर्ष पटका अझै कडाई गरेको छ । गत जेनजी आन्दोलनका क्रममा कारागारबाट छुटेका व्यक्तिहरु नियन्त्रणमा आइसकेका छैनन् । त्यति मात्रै नभई प्रहरीको हतियार चोरी भएका छन् । पटका पड्काउँदा आउने आवाजले हतियार पड्किएको आवाजलाई झुक्याउने संभावना हुँदा अपराध बढ्न सक्ने संभावनालाई प्रहरीले चुनौतीको रुपमा हेरेको छ । त्यसैले प्रहरीले यसवर्ष पटका नपड्काई तिहार मनाएर सुरक्षा चुनौती समाधानका लागि सहयोग गर्न अपिल समेत गरेको छ ।
हाल विराटनगर लगायतका बजार क्षेत्रहरूमा पटका लुकाइछिपाई बिक्री वितरण भइरहेको प्रहरीमा समेत सूचना रहेको छ । प्रहरीले बजारमा समेत सादा पोशाकमा प्रहरी परिचालन गरेर यसको नियन्त्रणमा चासो राखिरहेको दावी छ । अत्यन्त प्रज्वलनशील पदार्थका रूपमा रहेको पटका साना बालबालिकादेखि युवासम्ममा आकर्षणको वस्तु बनेको छ। यस्ता विस्फोटक वस्तु प्रयोग गर्दा आगलागी तथा मानवीय क्षतिको जोखिम हुने भएकाले प्रहरीले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अधिकारीहरूले भने भारततर्फबाट पटका तस्करी भइरहेको भन्ने आरोप अस्वीकार गरेका छन्। तथापि, सीमाक्षेत्रमा निगरानी तीव्र पारिएको र भेटिएलगत्तै बरामद गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीहरूले तिहार अवधिभर सीमाक्षेत्रमा विशेष गस्ती तथा अनुगमन कार्यक्रम संचालन गर्ने तयारी गरेको पनि प्रहरीले जनाएको छ।