विराटनगर । विराटनगरको लोकप्रिय स्मृति व्याण्डले आफ्नो स्थापना भएको २५ वर्ष पुरा गरेको अवसरमा विशेष सम्मान पाउने भएको छ । आगामी असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा आयोजना हुने चौथो संस्करणको विराटनगर म्युजिक फेष्टिभलमा सो व्याण्डलाई सम्मान गरिने भएको हो ।

कार्यक्रमका संयोजक सेन्ट्रो महतका अनुसार लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुन गइरहेको यस म्युजिक फेष्टिभलमा विशेष साँगितिक प्रस्तुति सहित स्मृति व्याण्डलाई सम्मान गर्ने तयारी गरिएको छ । उनले भने, “स्मृति व्याण्डले विराटनगरको संगीत क्षेत्रमा दुई दशकभन्दा बढी योगदान दिएको छ, त्यसको कदरस्वरूप यो सम्मान कार्यक्रम राखिएको हो ।”

ई.स २००० सालमा स्थापना भएको व्याण्डले देशका विभिन्न शहरहरुमा पुगेर आफ्नो साँगितिक प्रस्तुति दिईसकेको छ । हाल व्याण्डको भोकलमा ज्योती सुब्बा , गितारमा दिपेन थापा र सुरज थन्दार त्यसैगरी वेस गितारमा दौरभराज वाना र ड्रमरमा विवेक राई रहेका छन् । स्मृति व्याण्डको ‘आमा तिम्रो माया, ‘मेरो पहिलो प्रेम ’ जानु छ विदेश, सपना हो कि बनेर’ गीतहरु निकै चर्चित रहेका छन् । अहिले उनीहरुको सार्थक एल्वम युटुवमा पनि हेर्न सकिन्छ । यस अघि स्प्राईट व्याण्ड च्यालेन्जमा पनि सहभागिता जनाई उकृष्ट पाँच पर्न सफल भएको थियो ।

उक्त फेष्टिभलमा स्मृति व्याण्डसँगै स्वर व्याण्ड र पूर्ण राई एण्ड दाजुभाई टिम लगायतका लोकप्रिय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । फेष्टिभलमार्फत् विराटनगरको सांगीतिक संस्कृतिलाई अझै सशक्त बनाउन र स्थानीय कलाकारलाई प्रोत्साहन दिने उद्देश्य रहेको बताइएको छ ।